एजेन्सी, २३ कार्तिक । दक्षिणी नाइजरको एक कक्षाकोठामा आगलागी हुँदा २५ विद्यार्थीको मृत्यु भएको छ ।

अधिकारीका अनुसार यी सबै विद्यार्थी ५ देखि ६ वर्षका थिए । नाइजरको मराडी क्षेत्रमा सोमबार बिहान कक्षाकोठामा पढाई भइरहेका बेला उक्त घटना भएका हो । उक्त घटनामा थुप्रै बालबालिका घाइते पनि भएका छन् । अगलागीको कारण स्पष्ट हुन सकेको छैन ।

नाइजरमा काठ र घाँसपात–पराल इत्यादिको कक्षाकोठा बनाइन्छ । यस्ता कक्षाकोठामा भारी संख्यामा विद्यार्थी बस्छन् जबकी इट्टाले बनाइएका कक्षा निकै कम छन् । स्थानीय मिडियालाई शहरका मेयर चाइबू अबुबकरले दिएको जानकारी अनुसार सोमबारको आगलागीमा यस्ता तीन कक्षा ध्वस्त भएका छन् ।

एक प्रत्यक्षदर्शीले बीबीसीलाई दिएको जानकारी अनुसार उनले थुप्रै शवलाई घटनास्थलबाट लैजादैँ गरेको देखेको र थुप्रै घाइते बालबालिकालाई अस्पतालमा भर्ना गरिएको छ । घाइते बालबालिकामध्ये केहीको स्थिति गम्भीर भएको बताइएको छ । स्कूलका सबै कक्षा रद्द गरिएको छ ।

नाइजरको स्कूलमा आगलागी हुनु असामान्य होइन तर यसमा धेरैको मृत्यु हुने गर्दैन । यद्यपि, यस वर्षको सुरुमा नाइजरको राजधानी नियामेमा आगलागीका कारण स्कूलको ढोकामा फसेका कारण २० बालबालिकाको मृत्यु भएको थियो ।