काठमाडौं, २३ कार्तिक । विभागीय खेलाडी निर्मला विकको ह्याट्रिकको मद्दतमा ललितपुर महानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एन्फा मैदानमा मंगलबार भएको खेलमा ललितपुरले झापाको शिवसताक्षी नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

ललितपुरको जितमा नेपाल पुलिस क्लबकी स्ट्राइकरसमेत रहेकी निर्मलाले ह्याट्रिक गर्दा मनीषा सेनले एक गोल गरिन् । ललितपुरले सेमिफाइनलमा झापाको कनकाई नगरपालिका र कैलालीको गोदावरी नगरपालिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

आजको अन्तिम तथा दोस्रो खेल बर्दियाको बाँसगढी नगरपालिका र धनगढी उपमहानगरपालिकाबीच भइरहेको छ । प्रतियोगिताको विजेता र उपविजेता राष्ट्रिय महिला लिगमा छनोट हुनेछन् । यस प्रतियोगिताको विजेताले पाँच लाख पाउँदा उपविजेताले २ लाख ५० हजार पाउने छन् ।

राष्ट्रिय महिला लिगमा तीन विभागीय क्लब (नेपाल पुलिस, एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब) वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकासहित ८ क्लबको सहभागिता रहनेछ ।