चीनले अनुदान स्वरूप उपलब्ध गराएको खोप नेपाललाई हस्तान्तरण

काठमाडौं, १७ कार्तिक । चीनले नेपाललाई अनुदान सहायता स्वरूप थप १६ लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई सो खोप हस्तान्तरण गरेकी हुन् ।
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडाले चीन सरकारले चालू आर्थिक वर्षभित्र सबै नेपालीलाई खोप दिइसक्ने योजनालाई पूरा गराउन सहयोग स्वरूप कोभिडविरुद्धको खोप उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गरे ।
उनले त्यस अवसरमा हालसम्म चीन सरकारले नेपाललाई ३४ लाख खोप अनुदान सहायताको रूपमा उपलब्ध गराएको पनि जानकारी दिए ।
उता चिनियाँ राजदूत यान्छीले नेपाल सरकारको कोभिडविरुद्धको अभियानमा साथ दिन चीन सरकारले आवश्यक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन् । उनले २ दिनपछि चिनियाँ सेनाले नेपाली सेनालाई ३ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराउने जानकारी समेत दिइन् ।
यता स्वास्थ्यमन्त्री खतिवडाले चीन सरकारले नेपालमा कोभिड नियन्त्रणका लागि हालसम्म स्वास्थ्य सहायता सामग्रीहरू पनि अनुदान सहायता स्वरूप उपलब्ध गराउँदै आएको भन्दै धन्यवाद व्यक्त गरे । उनले नेपालले हालसम्म चीनबाट खरिद प्रक्रियामार्फत् १ करोड कोभिडविरुद्धको खोप ल्याइसकेको पनि बताए ।