एजेन्सी, १६ कार्तिक । स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर सर्जियो अग्वेरो कम्तीमा पनि तीन महिना मैदान बाहिर रहने भएका छन् ।

डिपोर्टिभो एलाभेससँग १–१ गोलको बराबरी खेलेको खेलमा छाती दुखेको महसुस भएपछि उनलाई परिवर्तन गरिएको थियो ।

खेलपछि मेडिकल परीक्षण गर्दा उनलाई कार्डियक एरिथमिया भएको पत्ता लागेको थियो । अगुइरोलाई मुटु रोग अस्पतालमा लगिएको छ । उनको डा.जोसेप ब्रुगाडाको टोलीले परीक्षण गर्ने बुझिएको छ ।

‘अगुइरो कम्तीमा पनि तीनसम्म मैदान बाहिर रहने भएका छन् । उनको रिकभरी प्रक्रिया र उपचारको प्रभावकारिता हेरेर मूल्यांकन गरिनेछ’, बार्सिलोनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

घटनापछि बार्सिलोनाका समर्थकहरुलाई दिएको सन्देशमा उनले भनेका छन्, ‘म ठीक छु र रिकभरी प्रक्रियाको सामना गर्न राम्रो अवस्थामा छु । म माया र समर्थनका सन्देशहरुका लागि सबैलाई धन्यवाद दिन चाहन्छु । जसले आज मेरो हृदयलाई बलियो बनाएको छ ।’

अग्वेरो यसै सिजन इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट बार्सिलोना आएका थिए । चोटका कारण उनले बार्सिलोनामा धेरै खेल खेलेका छैनन् । अब अग्वेरोले यो तीन महिनाको अवधिमा बार्सिलोनाका केही महत्वपूर्ण खेलसँगै अर्जेन्टिनाको विश्वकप छनोटका खेलहरु पनि गुमाउने छन् ।