पार्टीलाई व्यवस्थित बनाउन पुस्तान्तरणभन्दा पनि रुपान्तरणको आवश्यकता: बरिष्ठ नेता पौडेल

जनकपुरधाम, १५ कार्तिक । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अस्तव्यस्त अवस्थामा रहेको पार्टीलाई व्यवस्थित बनाउने आफूहरुको पहिलो प्राथमिकता रहेको बताएका छन् ।
जनकपुरधाममा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै बरिष्ठ नेता पौडेलले पछिल्लो समय पार्टी नै अस्तव्यस्त भईसकेकोले त्यसलाई व्यवस्थित बनाउने आफूहरुको पहिलो प्राथमिकतामा रहेको बताए ।
उनले भने,‘लोकतन्त्रमाथी समेत खतरा बढ्दै गईरहेको छ, अहिले मेरो पार्टी अस्तव्यस्त छ, पार्टी व्यवस्थित भए लगत्तै लोकतन्त्र पनि आफै व्यवस्थित हुँदै जान्छ ।’ पार्टीलाई व्यवस्थित बनाउनका लागि पुस्तान्तरणभन्दा पनि रुपान्तरणको आवश्यक्ता रहेको उनले बताए ।
‘पार्टी भित्र पुस्तान्तरणको चर्चा चलिरहेको छ तर अहिले आवश्यक्ता रुपान्तरणको हो । सबैलाई एक ढिक्का बनाएर अगाडी बढ्न सक्ने, राष्ट्रलाई हाँक्न सक्ने व्यक्तिलाई पार्टी सभापतिको जिम्मेवारी दिइनु पर्दछ । पार्टीको सभापतिको जिम्मेबारी दिने जिम्मा कांग्रेसी कार्यकर्ताको जिम्मामा छोड्नु पर्छ, न कि भागबण्डाको आधारमा दिइनु पर्छ,’उनले भने ।’
पौडेलले मंसिर २४ गते भित्रै पार्टी महाधिवेशन हुने र अब महाधिवेशन कार्यतालिका कुनै पनि हालतमा हेरफेर नहुने दावी समेत गरे ।
बरिष्ठ नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवा सेटिंगको आधारमा प्रधानमन्त्री नबनेको बताए । उनले देउवा संविधानको मर्म तथा विधि प्रक्रिया अनुसार नै प्रधानमन्त्री बनेको बताए । यद्यपि सरकारले गति लिन नसकेकोमा उनले चिन्ता व्यक्त गरे ।
उनले भने,‘ सरकारले गति लिन सकेको छैन, सरकारले पूर्णता पाएको छ विश्वास गरौँ चाँडै नै कामले पनि गति लिन्छ ।’ वरिष्ठ नेता पौडेलले आगामी निर्वाचनमा काँग्रेसले एक्लै चुनाव लड्ने पनि बताए ।
न्यायपालिकामा देखिएको समस्याको विषयमा पार्टीको धारणा आउनु पर्छ भन्ने पक्षमा आफू रहेको उनको भनाई थियो ।