भारतले आगामी वर्षको अन्त्यसम्ममा पाँच अर्ब डोज कोरोनाविरुद्धको भ्याक्सिन बनाउने


एजेन्सी, १४ कार्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी वर्षको अन्त्यसम्ममा भारतले पाँच अर्ब डोज कोरोनाविरुद्धको भ्याक्सिन बनाउने बताएका छन् । शनिबार रोममा आयोजित जी– २० देशहरुको सम्मेलनलाई सम्बोधन गर्दै मोदीले उक्त कुरा बताएका हुन् ।
प्रधानमन्त्री मोदीको कार्यक्रमबारे मिडियालाई जानकारी दिँदै विदेश सचिव हर्षवर्धन शृंगलाले अन्तर्राष्ट्रिय यात्राको सुविधा दिन र भ्याक्सिन लगाएको प्रमाणपत्रको आधारमा मान्यता दिने प्रणाली निर्माणमा समेत जोड दिएको जानकारी दिए ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले भारतमा बनेको कोभ्याक्सिनलाई आपत्कालीन प्रयोगका लागि स्वीकृति दिन ढिलाइ गरेको मोदीले बताएका थिए । छिटो स्वीकृति दिएका खण्डमा भ्याक्सिन अन्य देशमा समेत पठाउन सकिने उनको भनाइ थियो ।
संयुक्त राष्ट्र संघको स्वास्थ्य निकाय प्रविधि सल्लाहकार समूहको नोभेम्बर ३ मा बैठक बस्दै छ । उक्त बैठकमा कोभ्याक्सिन प्रयोगको स्वीकृति दिनेबारे छलफल हुने बताइएको छ । भारत बायोटेकको कोभ्याक्सिन र अस्ट्राजेनेका तथा अक्सफोर्ड विश्वविद्यालय निर्मित कोभिसिल्ड भारतमा अधिक प्रयोग हुँदै आएको छ ।
कार्यक्रममा मोदीले महामारीका क्रममा १५० देशलाई चिकित्सा सामग्री आपूर्ति गर्न तथा विश्व आपूर्ति शृंखलालाई जोगाउन भारतको महत्वपूर्ण योगदान रहेको बताए । शृंगलाका अनुसार मोदीले यस्तो टिप्पणी जी–२० बैठक अन्तर्गतको ‘वैश्विक अर्थव्यवस्था र वैश्विक स्वास्थ्य’ सत्रमा गरेका थिए ।
मोदीले लचिलो वैश्विक आपूर्ति शृंखलाको पक्षमा आफ्नो धारणा राखेका थिए । उनले भारतले साहसिलो आर्थिक सुधार गरिरहेको र जी–२० देशहरु भारतको आर्थिक उभार तथा आपूर्ति शृंखलामा विविधिकरणको साझेदार बन्न आह्वानसमेत गरे ।
शृंगलाका अनुसार, मोदीले सम्बोधनका क्रममा महामारीविरुद्धको लडाइँ र भविष्यको वैश्विक स्वास्थ्य समस्याको पृष्ठभूमिमा ‘एक धर्ती, एक स्वास्थ्य’ दृष्टिकोण प्रस्तुत गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
