राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाको फराकिलो जित

काठमाडौं, १४ कार्तिक । उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाले फराकिलो जित हात पारेको छ ।
गोकर्णेश्वरले एन्फा कम्प्लेक्समा आइतबार धनकुटा उपमहानगरपालिकालाई ४–० ले पराजित गरेको हो ।
खेलको ११ औँ मिनेटमा अलिशा केसीले गोल गर्दै गोकर्णेश्वरलाई अग्रता दिलाएकी थिइन् । ४६ औँ मिनेटमा अनिता केसीले टोलीको अग्रता दोब्बर बनाइन् ।
६७ औँ मिनेटमा अनिता बस्नेतले टोलीका लागि तेस्रो गोल गरिन् । ८६ औँ मिनेटमा अनिता केसीले ब्यक्तिगत दोस्रो गोल गर्दै गोकर्णेश्वरलाई फराकिलो जित दिलाइन् ।
यो नतिजासँगै गोकर्णेश्वरले २ खेलबाट ४ अंक जोडेको छ । गोकर्णेश्वरले पहिलो खेलमा धनगढी उपमहानगरपालिकासँग १–१ को बराबरी खेलेको थियो ।