जनकपुरधाम, १४ कार्तिक । धनुषाको सबैला नगरपालिकामा विभिन्न शिर्षकमा भ्रष्टाचार भएको भन्दै स्थानीयवासीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापन पत्र बुझाएका छन् ।

नगरप्रमुख विजय शंकर प्रसाद साहले अनुचित एवं भ्रष्टाचारजन्य कार्य गरेको भन्दै भ्रष्टाचार बिरुद्ध संघर्ष समितिले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् ।

उनीहरुले मेयर साहले आर्थिक वर्ष २०७४/०७५ देखी हालसम्म भएका योजनाहरुको किताब र कार्य सम्पन्न योजनाको किताब लगायत शंकास्पद क्रियाकलापहरुको विषयमा विभिन्न मितिहरुमा निवेदन दिई सुचना हक अधिकारको माग प्रयोग गरी दर्ता गराउँदा पनि सुचना उपलब्ध गराउन कुनै चासो नदिएको भन्दै ज्ञापन पत्र बुझाएका छन् ।

स्थानीय कारी प्रसाद यादवले सबैला नगरपालिकाले सोलार लाईटको नाममा ठुलो रकम निकासा गरेपनि नगरभित्र लाइट कहिं जडान नभएको र कोभिड–१९ को नाममा पनि ठुलो भ्रष्टाचारी भएको आरोप लगाए । उनले लामो समयसम्म विद्यालय बन्द भएको बेला दिवा खाजा सञ्चालनको नाममा समेत ठुलो रकम हिनामिना भएको र एउटै सडकमा दुई पटक ठेक्का तथा एक पटक उपभोक्ता समिति बनाई मात्र कागजी रुपमा काम भएको तथा फर्जी बिल पेश गरी रकम निकासा गरिएको दावी समेत गरे ।

यादवले मेयर साहले उन्नत जातको विउ वितरण गर्ने नाममा सबै रकम निकासा गरी विउ समेत वितरण नगरेको र विज्ञान प्रयोगशालाको नाममा रकम निकासा गरी कुनै पनि सामुदायीक स्कुलमा उक्त प्रयोगशाला निर्माण नगरेको जिकिर गरे । नगरप्रमुख साहले औषधी खरिद, गाडी भाडा खर्च, बाख्रा पालन, लगायत अनेक फर्जि योजनाहरु बनाई ठुलो रकम भ्रष्टाचार गरेको दावी समेत यादवले गरे ।

नगरप्रमुख साहले विभिन्न १९ वटा शिर्षकमा भ्रष्टाचार गरेको भन्दै भ्रष्टाचार विरुद्ध संघर्ष समितिले आजै महोत्तरीको बर्दिबासस्थित अख्यितार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा समेत ज्ञापन पत्र बुझाएका छन् । सबैला नगरपालिकामा एक महिना भन्दा लामो समय देखि सूचना माग्दै एक समुह नगर प्रमुख विजय शंकर प्रसाद साह, प्रमुख प्रशासकीय अधिकृत, लेखा प्रमुख, प्राविधिक प्रमुखसमेतको विरुद्धमा रिले अनसन गर्दै आएका छन् ।