धादिङ, ७ कार्तिक । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीमा गुडिरहेको एक बसमा आज बिहान अचानक आगलागी भएको छ ।

सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुबसमा एक्कासी आगलागी भएको प्रहरीले जनाएको छ ।

बसमा आगो लागेपनि त्यसमा सवार ३६ जना यात्रु भने सकुशल रहेका छन् । बसमा रहेको सामान भने जलेर नष्ट भएको छ ।

बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।