सर्लाही, ६ कार्तिक । सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

शनिबार करेन्ट लागेर दुई जनाको र मोटरसाईकलको ठक्करबाट एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्लाको ईश्वरपुर नगरपालिका–१५ सुकनाहामा मोटर जोडेको ट्युबेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा ब्रहम्पुरी गाउँपालिका–७ मोहनगंज निवासी उमेश साहकी २८ वर्षिय श्रीमती पपिता देवी साहको मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर घाईते भएकी साहलाई उपचारको लागि लालबन्दी तर्फ लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।त्यस्तै करेन्ट लागेर ब्रहम्पुरी गाउँपालिका–२ निवासी ४० वर्षीय सुरेन्द्र साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरिक्षक कृष्ण गिरीले जानकरी दिए ।

विद्युतीय पोलमा वाईफाईको तार जोड्न जाँदा साहलाई शनिबार साँझ करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाईते भएका साहलाई उपचारको लागि सर्लाही जिल्ला अस्पताल मलंगवामा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

त्यस्तै, बागमती नगरपालिका–५ मा मोटरसाईकलले शनिबार राती करिब ८ बजे साईकललाई ठक्कर दिँदा साईकल चालक एक बालकको मृत्यु भएको छ ।

मोटरसाईकलको ठक्करबाट बागमती नगरपालिका–८ बस्ने १४ वर्षीय बालक प्रकाश बहादुर थिंगको मृत्यु भएको प्रहरीले जनाएको छ ।