जेल तोडेर भागेका झुलाई पक्राउ गर्न २३ हजार अमेरिकी डलर पुरस्कार घोषणा

एजेन्सी, ६ कार्तिक । चीनको उत्तरपूर्वी क्षेत्र जिलिनस्थित जेल तोडेर भागेका उत्तर कोरियाली नागरिक झु छियानजियानलाई पक्राउ गर्न चिनियाँ अधिकारीहरुले २३ हजार अमेरिकी डलर पुरस्कार घोषणा गरेका छन् ।
झु छियानजियान २०१३ मा अवैध रुपमा चीन प्रवेश गरेका थिए । तीन वर्षपछि उनले ठगी र अवैध रुपमा सीमा पार गरेको लगायत मुद्दामा ११ वर्षका लागि जेल सजाय पाएका थिए । उनी उत्तर कोरियाबाट भागेर चीन पुगेकाले उत्तर कोरियाको देशद्रोही सूचीमा परेका थिए ।
उनी जेलको गेट छेउबाट भागेपछि जिलिन कारागारले उनको खोजीका लागि पुरस्कार घोषणा गरेको हो । अधिकारीहरुका अनुसार उनको बारेमा प्रहरीलाई सूचना दिए मात्रै पनि १५ हजार ६०० अमेरिकी डलर पुरस्कार पाउनेछन् ।
जेलबाट नाटकीय शैलीमा उनी भाग्दै गरेको भिडियो फुटेजसमेत सार्वजनिक भएको छ । फुटेजमा उनी प्रष्टसँग नदेखिए पनि नाटकीय रुपमा भाग्दै गरेको दृश्य देख्न सकिन्छ । भिडियोमा झु कम्पाउन्डको बार नाघेर भाग्दै गरेको दखिन्छ । त्यस क्रममा उनी घरका छतमासमेत चढेका थिए ।
चीनमा ट्वीटर लगायत सामाजिक सञ्जालमा २२ मिलियनले उनलाई अवलोकन गरेका छन् । तर जेलबाट भागेका अभियुक्त स्वयं चीनमा चर्चित बनेका छन् । उनी एक अभियुक्त भए पनि धेरैबाट सहानुभूति पाएका छन् । उनको पक्षमा ह्यासट्याग अभियान नै चलाइएको छ ।
चीनले भने ह्यासट्याग अभियानमा सेन्सर लगाएको जनाइएको छ । चीनले यस्तो घटनाप्रति आपत्ति जनाउँदै सेन्सर लगाएको हो । तीमध्ये केही ह्यासट्याग र सामाजिक सञ्जालबाटै हटाइएको छ ।
अदालतका कागजातहरुका अनुसार २००३ को जुलाइ २१ को रात झु कठिन बाटो हुँदै चीन पुगेका थिए । उत्तर कोरियामा छँदा उनी कोइला खानीमा काम गर्थे । चीनमा जेल परेपछि त्यस अवधिमा उनको काराबास सजाय दुई पटकसम्म कम गरिएको थियो ।
उनले जेलभित्र रहँदा अनुसाशित भएको, वैचारिक, सांस्कृतिक र व्यवसायिक शिक्षा र श्रममा सक्रिय रुपमा काम गरेको भन्दै उनको सजाय २०१७ र २०२० मा दुई पटक कटौती गरिएको थियो । यसरी नभागेको भए २०२३ को अगस्टमा उनी रिहा हुन्थे ।