जनकपुरधाम, १६ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र कुनै गुट नरहेको र कांग्रेस नै नेपालको सबैभन्दा ठुलो मधेशवादी पार्टी भएको दाबी गरेका छन् ।

धनुषा–४ मा आयोजित चुनावी कार्यक्रममा उनले मधेशको विकास र अधिकारका लागि कांग्रेसलाई मुख्य शक्ति भएको उल्लेख गर्दै कार्यकर्तालाई एकजुट भएर अगाडि बढ्न निर्देशन दिएका छन् ।

सभापति थापाले भने, ‘यदि कसैले मधेशवादीलाई भोट हाल्ने सोचमा छन् भने आजको दिनमा नेपालको सबैभन्दा ठुलो मधेशवादी पार्टी नेपाली कांग्रेस नै हो भनेर भन्नुपर्छ ।’

उनले कांग्रेसले राष्ट्रिय तथा स्थानीय दुवै मुद्दामा मधेशको विकासलाई प्राथमिकता दिंदै जनतासमक्ष आएको बताए ।

कार्यक्रममा थापाले धनुषा–४ का उम्मेदवार महेन्द्र यादवको प्रशंसा गर्दै उनी मधेशको मुद्दामा निडर भएर बोल्ने नेता भएको बताए ।

विद्यार्थी राजनीतिदेखि नै सँगै काम गरेको स्मरण गर्दै थापाले यादवले पार्टीभित्रको छलफलमा फरक मत भए पनि मधेशको विकास र अधिकारको मामिलामा कहिल्यै सम्झौता नगरेको बताए ।

सभापति थापाले यसपटकको कांग्रेस फरक सोच र शैलीका साथ आएको दाबी गर्दै पार्टीभित्र अब गुट नरहेको र कुनै बहानामा उम्मेदवारलाई असहयोग नगर्न कार्यकर्तालाई सचेत गराए ।

उनले रुख चिन्ह लिएर उम्मेदवार बनेपछि व्यक्तिगत असन्तुष्टिलाई भुलेर पार्टीभित्र एकजुट हुन अपिल गर्दै भने, ‘कसैले अन्तरघात वा असहयोग गरेको सुन्न नपरोस् । सबै उम्मेदवारलाई समान व्यवहार गर्नुपर्छ ।’

थापाले देशलाई अहिले ध्वंस गर्ने नभई सम्हाल्ने शक्तिको आवश्यकता रहेको र त्यो क्षमता कांग्रेससँग मात्र रहेको बताए । उनले कांग्रेसले देशको व्यवस्थालाई सुधार्न र सम्हाल्न सक्ने दाबी गर्दै सबै क्षेत्रबाट कांग्रेसको जित सुनिश्चित गर्न मतदातासमक्ष अपिल गरे ।

उक्त अपिलमा उनले महेन्द्र यादवसहित विमलेन्द्र निधि, रामकृष्ण यादव र दिनेश परसैलालाई जिताएर प्रतिनिधिसभामा पठाउन आग्रह गरेका छन् ।

सभापति थापाले मधेश प्रदेश समितिको बैठकमा पार्टीभित्र कुनै गुट नभएको स्पष्ट गर्दै भने, ‘हामी सबै मिलेर अघि बढ्नुपर्छ । निवर्तमान सभापति शेरबहादुर देउवासँग सल्लाह लिइरहेका छौँ ।’

थापाले मधेशका मुद्दाहरूको समाधान नेपाली कांग्रेसले गर्ने प्रतिवद्धता व्यक्त गर्दै भने, ‘म पनि मधेशबाट आगामी निर्वाचनका लागि उम्मेदवार बनेको छु । मधेशको सबै समस्या अब नेपाली कांग्रेसले नै समाधान गर्नेछ ।’