नयाँ दिल्ली, ८ फागुन । भारतीय जनता पार्टी (भाजपा) की विधायक रेखा गुप्ताले बिहीबार नयाँ दिल्लीको मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेकी छन् ।
दिल्लीको रामलीला मैदानमा आयोजित एक भव्य शपथ ग्रहण समारोहमा दिल्लीका उपराज्यपाल विनयकुमार सक्सेनाद्वारा गुप्तालाई पद र गोपनियताको शपथ गराइएको हो ।
शपथ ग्रहण कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य भाजपा नेताहरूको पनि सहभागिता रहेको थियो । यस अवसरमा गुप्ता सहित अन्य भाजपा नेताहरूको नाम पनि चर्चा गरिएको थियो ।
बुधबार साँझ बसेको दिल्ली भाजपा संसदीय दलको बैठकले गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । यससँगै दिल्लीको सत्तामा भारतीय जनता पार्टीको २७ वर्षपछि पुनरागमन भएको छ ।
रेखा गुप्ता शालिमारबाग निर्वाचन क्षेत्रबाट निर्वाचित भइ मुख्यमन्त्री नियुक्त भएकी हुन् । गुप्ता यसअघि दिल्ली नगर निगमकी मेयर समेत रहिसकेकी छन् । उनी दिल्ली भाजपाकी महासचिव र महिला मोर्चाको उपाध्यक्ष पनि हुन् ।
मुख्यमन्त्रीको पदको लागि गुप्तासहित प्रवेश बर्मा, शिखा राय, विजेन्द्र गुप्ता, आशिष सुद र सतिश उपाध्याय लगायत नेता आकांक्षी थिए ।
रेखा गुप्ताले अब दिल्लीका प्रमुख विषयमा काम गर्ने, समावेशी र सशक्त प्रशासनका लागि कदम चाल्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।