रौतहट, १७ चैत । रौतहट जिल्ला अदालत गौरमा कार्यरत एक कर्मचारी घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिएको टोलीले अदालतका डिठ्ठा लव कुमार सिंहलाई सेवाग्राहीसँग नगद ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

आयोगका अनुसार अदालतको फैसलाअनुसार दर्ता–खारेज पुर्जी (दा.खा.) गरी जग्गा फुकुवा गराइदिने कामका लागि उनले सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी प्राप्त भएको थियो ।

सोही सूचनाका आधारमा निगरानी राखिएको टोलीले गौर नगरपालिका–१ स्थित रौतहट जिल्ला अदालत परिसरबाट सिंहलाई रकमसहित पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका सिंहको साथबाट घुस रकम ५० हजार रुपैयाँ र एक थान मोबाइल समेत बरामद गरिएको आयोगले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।