सुनसरी, १७ चैत । सुनसरीको इटहरीस्थित बालग्राम चोकमा सामाजिक सञ्जालको सुरक्षित प्रयोगसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

एसओएस हर्मन माइनर माध्यमिक विद्यालयका कम्प्युटर इन्जिनियरिङ कक्षा ११ का विद्यार्थीहरूको आयोजनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायका गरी ५६ जनाको सहभागिता रहेको थियो ।

सहभागीहरूलाई सामाजिक सञ्जालको जिम्मेवार र सुरक्षित प्रयोगका विषयमा जानकारी गराइएको आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुख वक्ता इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक सुर्य खनालले साइबर अपराध, अनलाइन ठगी तथा कानुनी पक्षबारे विस्तृत जानकारी दिँदै सचेत रहन आग्रह गरे ।

उनले सामाजिक सञ्जाल प्रयोग गर्दा व्यक्तिगत गोपनीयता संरक्षण र कानुनी जिम्मेवारीप्रति सजग हुनुपर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा एसओएस बालग्राम इटहरीका परियोजना निर्देशक देव चरण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका क्रममा उनले सामाजिक सञ्जालको सही व्यवस्थापन आजको आवश्यकता भएको उल्लेख गरे ।

यस्ता कार्यक्रमले विद्यार्थी र समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।

सचेतनामूलक कार्यक्रमले सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे जनचेतना अभिवृद्धि गर्न सहयोग पुगेको सहभागीहरूले बताए ।