महोत्तरी, १७ चैत । दोस्रो आर्थिक गणना २०८२ लाई प्रभावकारी र व्यवस्थित रूपमा सम्पन्न गर्न जिल्लास्तरीय समन्वय अपरिहार्य रहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् ।

जिल्ला स्तरिय समन्वय समितिको अन्तर्क्रिया बैठकमा बोल्दै प्रजिअ यादवले आर्थिक गणनाले देशको समग्र अर्थतन्त्रको वास्तविक चित्र प्रस्तुत गर्ने भएकाले यस कार्यमा सबै सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

‘आर्थिक गणना तथ्यांक सङ्कलनको काम मात्र नभई आगामी नीति तथा योजना निर्माणको आधार हो,’ उनले भने ।

उनले गणना प्रक्रियालाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित कार्यालयहरूबीच समन्वय र सहकार्य अझ सुदृढ गर्नुपर्नेमा जोड दिए ।

साथै गणनामा खटिने जनशक्तिलाई आवश्यक सहयोग र सहज वातावरण उपलब्ध गराउन प्रशासन प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख, स्थानीय तहका प्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सहभागीहरूले आर्थिक गणनालाई सफल बनाउन आवश्यक सुझाव तथा अनुभवहरू समेत साझा गरेका थिए ।

दोस्रो आर्थिक गणना २०८२ मार्फत देशभरका आर्थिक गतिविधिहरूको यथार्थ विवरण संकलन गरिने विश्वास गरिएको छ । यसले दीर्घकालीन विकास योजना निर्माणमा महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास लिइएको छ ।