जनकपुरधाम, १७ चैत । मधेश प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाले बजार क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यले फुटपाथ अतिक्रमण हटाउने अभियानलाई तीव्रता दिएको छ ।

मंगलबार रामचोकदेखि विमानस्थलसम्मको मार्गलाई केन्द्रित गर्दै सञ्चालन गरिएको अभियानमा मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री स्वयं उपस्थित भई नेतृत्व गरेका थिए भने मेयर मनोज कुमार साह पनि प्राविधिक टोलीसहित ग्राउन्ड जिरोमै खटिएका थिए ।

सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा नगर प्रहरीको संयुक्त परिचालनमा सडक र फुटपाथ अतिक्रमण गरी सञ्चालन हुँदै आएका अस्थायी तथा अनधिकृत पसलहरू हटाइएको हो ।

अभियानका क्रममा सडक किनार तथा पैदलमार्गमा राखिएका ठेला, टहरा र अन्य संरचनाहरू हटाइएका छन् ।

अभियानको नेतृत्व गर्दै मन्त्रीले सार्वजनिक स्थलको संरक्षण र व्यवस्थित शहरी जीवनका लागि अतिक्रमण हटाउने कार्य अपरिहार्य भएको बताए ।

उनले भने, ‘फुटपाथ पैदल यात्रुका लागि हो । व्यापारका लागि होइन । सार्वजनिक स्थानको दुरुपयोग सह्य हुँदैन । अभियानलाई निरन्तरता दिइन्छ ।’

उनले स्थानीय तहसँग समन्वय गरी सुशासन कायम गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारे ।

यस्तै, मेयर मनोज कुमार साहले जनकपुरधामलाई स्वच्छ, सुन्दर र व्यवस्थित शहर बनाउने अभियान अन्तर्गत अतिक्रमण हटाउने कार्यलाई प्राथमिकता दिइएको बताए ।

‘सार्वजनिक जग्गा अतिक्रमणमुक्त गराउने, फुटपाथ खाली गराउने र बजारलाई व्यवस्थित बनाउने हाम्रो दीर्घकालीन योजना हो,’ उनले भने, ‘यसका लागि हामी प्रविधि र जनशक्तिको प्रयोग गर्दै निरन्तर फिल्डमै खटिरहेका छौं ।’

मेयर साहका अनुसार अतिक्रमण हटाइसकेपछि ती क्षेत्रहरूको सौन्दर्यकरण, हरियाली प्रवर्द्धन तथा पैदलमैत्री पूर्वाधार निर्माण गरिनेछ । साथै, व्यवसायीहरूलाई वैकल्पिक व्यवस्थापनका लागि पनि उपमहानगरपालिकाले आवश्यक सहजीकरण गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

स्थानीय प्रशासनले पनि यस प्रकारका अभियानहरू आगामी दिनहरूमा थप विस्तार गरिने जनाएको छ । बजार क्षेत्रको व्यवस्थापन, ट्राफिक सहजता तथा दुर्घटना न्यूनीकरणका लागि यस्ता गतिविधिले सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

अभियानका क्रममा केही व्यवसायीले असन्तुष्टि जनाए पनि अधिकांश स्थानीयले फुटपात खाली गराउने कार्यको स्वागत गरेका छन् ।

उनीहरूले लामो समयदेखि पैदल यात्रुहरूलाई हिँडडुल गर्न कठिन भइरहेको अवस्थामा यस्तो कदम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

जनकपुरधाममा पछिल्लो समय तीव्र शहरीकरणसँगै बढ्दै गएको अतिक्रमण समस्या समाधानका लागि स्थानीय र प्रदेश सरकार दुवै तहबाट संयुक्त पहल सुरु भएको देखिएको छ ।