जनकपुरधाम, २५ फागुन । विवादित बनेको धनुषा निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कम्युनिस्ट पार्टीका नेता मातृका प्रसाद यादव निर्वाचित घोषित भएका छन् ।

निर्वाचन कार्यालयले सोमबार बेलुकी करिब ९ बजे उनलाई औपचारिक रूपमा निर्वाचित घोषणा गर्दै प्रमाणपत्र प्रदान गरेको हो ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी निर्वाचन आयोगले यसअघि नै खारेज गरेको थियो ।

आयोगले फागुन १९ गते कमलको उम्मेदवारी अयोग्य ठहर गर्दै उनको चुनाव चिन्ह ‘घण्टी’मा परेको सबै मत बदर हुने निर्णय गरेको थियो ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना आइतबार नै सकिए पनि निर्वाचित को हुने? भन्ने विषयमा विवाद हुँदै आएको थियो ।

घण्टी चिन्हबाट चुनाव लडेका कमलले आफूले सबैभन्दा बढी मत प्राप्त गरेको दाबी गर्दै जनमतका आधारमा आफूलाई विजयी घोषणा गर्नुपर्ने माग राख्दै आएका थिए ।

तर, आयोगले उम्मेदवारी खारेज भइसकेकाले दोस्रो स्थानमा रहेका उम्मेदवारलाई विजयी घोषणा गरिने बताएको थियो ।

मतपरिणाम अनुसार मातृका प्रसाद यादवले १० हजार ४३० मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राम पल्टन साहले ९ हजार ५०२ मत प्राप्त गरे भने नेकपा एमालेका रामचन्द्र मण्डलले ९ हजार ३१५ मत पाएका छन् ।

यता, उम्मेदवारी खारेज भएका किशोरी साह कमलले पाएको मतको आधिकारिक विवरण भने सार्वजनिक गरिएको छैन ।

अनौपचारिक रूपमा भने उनले ३० हजारभन्दा बढी मत प्राप्त गरेको बताइएको छ ।