काठमाडौं, २५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक सफलता हासिल गर्दै प्रत्यक्षतर्फ १२५ सिटमा विजय प्राप्त गरेको छ । यसका साथ रास्वपा संसद्‌मा स्पष्ट बहुमतको पार्टी बनेको छ ।

रास्वपाले प्रत्यक्षतर्फका १६५ सिटमध्ये ७५ प्रतिशतभन्दा बढी सिटमा जित हात पारेको छ । यस निर्वाचनमा नेपाली कांग्रेस दोस्रो दल बनेको छ । कांग्रेसले १८ सिटमा विजय प्राप्त गरेको छ । नेकपा एमाले भने तेस्रो स्थानमा सीमित भएको छ ।

विभिन्न वामपन्थी दलहरूको गठबन्धन नेपाली कम्युनिष्ट पार्टीले ७ सिटमा मात्र विजय हासिल गरेको छ । जेनजी आन्दोलनपछिको नयाँ दल, श्रम संस्कृति पार्टीले ३ सिटमा जित दर्ता गराएर छोटो समयमै संसदीय राजनीति प्रवेश गरेको छ ।

राजतन्त्र समर्थक दल राप्रपाले १ सिट मात्र जितेको छ । यसैगरी देशभर स्वतन्त्र पार्टीबाट एकजना उम्मेदवार विजयी भएका छन् ।

नतिजा अनुसार गोरखा २ मा रास्वपाका कविन्द्र बुर्लाकोटी २६,६६० मतसहित विजयी भए । उनले कांग्रेसका प्रकाशचन्द्र दवाडीलाई करिब १४,९६० मतको फरकले पराजित गरे ।

नुवाकोट १ मा रास्वपाका विक्रम तिमिल्सिनाले ४,०१२ मत अन्तरले कांग्रेसका प्रकाशशरण महतलाई पराजित गरे ।

सुनसरी ४ मा रास्वपाका दीपककुमार साह ४२,७७१ मतसहित विजयी भए । उनले कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई २६,१८४ मत अन्तरले हराए ।

अछाम २ मा भने नेकपा एमालेका यज्ञबहादुर बोगटी विजयी भए । उनले कांग्रेसका पुष्प शाहलाई ४७२ मत अन्तरले पराजित गरे ।

यससँगै रास्वपाले राष्ट्रिय राजनीतिमा आफ्नो प्रभुत्व स्थापित गर्दै संसद्‌मा बहुमतको स्थिति प्राप्त गरेको छ ।