सुनसरी, २५ फागुन । सुनसरीको इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रमा दैनिक उत्पादन हुने फोहोर व्यवस्थापन कार्यमा देखिएको अवरोध हटाइ सहयोग गर्न स्थानीयवासी तथा सरोकारवालासँग आग्रह गरेको छ ।

नगरप्रमुख हेमकर्ण पौडेलले एक विज्ञप्ति जारी गर्दै इटहरी उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र ललितपुर र वेस्ट एन्ड इन्भारो मेनेजमेन्ट प्राइभेट लिमिटेडबीच २०७५ वैशाख १४ गते ‘वेस्ट टु इनर्जी प्रोजेक्ट’ (जैविक फोहोरबाट ऊर्जा उत्पादन कार्यक्रम) सञ्चालनका लागि त्रिपक्षीय सम्झौता भएको स्मरण गराएका छन् ।

सोही सम्झौताअनुसार उपमहानगर क्षेत्रबाट संकलन हुने फोहोर वडा नम्बर १० मा रहेको परियोजना स्थलमा व्यवस्थापन हुँदै आएको उनले बताए ।

उपमहानगरपालिकाले फोहोर व्यवस्थापन केन्द्र निर्माणअघि स्थानीयवासीसँग भएको सहमतिअनुसार त्यस क्षेत्रको भौतिक, सामाजिक र आर्थिक विकासका लागि केही काम सम्पन्न भइसकेको र केही कार्य कार्यान्वयनको क्रममा रहेको पनि नगरप्रमुख पौडेलले उल्लेख गरेका छन् ।

फोहोर संकलन तथा ढुवानीका क्रममा वेस्ट एन्ड इन्भारो मेनेजमेन्ट प्रालिको सवारी साधनबाट भएको दुर्घटनामा मानवीय क्षति भएको घटनाप्रति उनले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

दुर्घटनापछि पीडित परिवारसँग वार्ता भई आपसी सहमति भइसकेको नगरप्रमुख पौडेलले जानकारी दिए ।

यद्यपि स्थानीयवासीले केही माग राख्दै हाल फोहोर व्यवस्थापन कार्यमा अवरोध गरेको जनाउँदै नगरप्रमुख पौडेलले उपमहानगरपालिका, वडा कार्यालय र स्थानीय समुदायबीच संवाद तथा छलफल भइरहेको बताए ।

उपमहानगरपालिकाले स्थानीयसँग भएका सहमति कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नगरबाट दैनिक उत्पादन हुने फोहोर व्यवस्थापन कार्यलाई सुचारु बनाउन अवरोध हटाई सहयोग गर्न स्थानीयवासी तथा सरोकारवालासँग आग्रह गरेका छन् ।