जनकपुरधाम, २५ फागुन । प्रतिनिधिसभा सदस्यमा धनुषा क्षेत्र नम्बर ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले मतदाताप्रति आभार व्यक्त गर्दै जनभावनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

निर्वाचन परिणाम सार्वजनिक भएपछि उनले एक धन्यवाद सन्देश जारी गर्दै आफूलाई विश्वास गरेर परिवर्तनको अभियानमा साथ दिएको भन्दै सम्पूर्ण मतदाता, समर्थक तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरेका हुन् ।

झाले प्राप्त जनादेशलाई उच्च सम्मानका साथ स्वीकार गर्दै जनताको अपेक्षा र भावनाअनुसार अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

उनले आफूलाई दिइएको जिम्मेवारी पूरा गर्न आगामी दिनमा पनि मतदाता, समर्थक र आम नागरिकको साथ, सहयोग र स्नेह आवश्यक रहने बताए ।

‘धनुषा क्षेत्र नम्बर ३ का सम्पूर्ण मतदाताले दिएको विश्वास र अभिभारालाई सम्मान गर्दै जनभावनाअनुसार काम गर्नेछु,’ उनले सन्देशमा उल्लेख गरेका छन् ।

झाले निर्वाचनमा सहयोग गर्ने पार्टीका नेता कार्यकर्ता, शुभेच्छुक तथा आम मतदाताप्रति पनि विशेष धन्यवाद व्यक्त गरेका छन् ।