महोत्तरीमा झण्डै २० हजार मत बदर

महोत्तरी, २५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को मतगणना परिणामअनुसार महोत्तरी जिल्लामा प्रत्यक्षतर्फ झण्डै २० हजार मत बदर भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम प्रतिवेदनअनुसार जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा गरी कुल १९ हजार ९३५ मत बदर भएको हो ।
क्षेत्रगत विवरणअनुसार निर्वाचन क्षेत्र नम्बर १ मा तीन हजार ९५४, क्षेत्र नम्बर २ मा पाँच हजार ४४९, क्षेत्र नम्बर ३ मा पाँच हजार १० तथा क्षेत्र नम्बर ४ मा पाँच हजार ५२२ मत बदर भएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले जानकारी दिए ।
महोत्तरीमा चार लाख ३१ हजार २८२ मतदाता कायम रहेकामा प्रतिनिधिसभा निर्वाचन–२०८२ मा दुई लाख ६१ हजार ३४६ जनाले मतदान गरेका थिए । यसअनुसार जिल्लामा ६०.५९ प्रतिशत मतदान भएको थियो ।
मतदानमध्ये दुई लाख ४१ हजार ४११ मत अर्थात् ९२.३७ प्रतिशत सदर भएको छ भने १९ हजार ९३५ मत अर्थात् ७.६२ प्रतिशत मत बदर भएको प्रतिवेदनमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर



