मिथिला परिक्रमा व्यवस्थित बनाउन व्यापक तयारी, १५ दिने यात्राका लागि विशेष सुरक्षा र सेवा व्यवस्था

जनकपुरधाम, २७ माघ । मधेश प्रदेशको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय पहिचान बोकेको मिथिला माध्यमिकी परिक्रमा व्यवस्थित र सुरक्षित रूपमा सञ्चालन गर्न सम्बन्धित निकायहरूले व्यापक तयारी थालेका छन् ।
परिक्रमा मार्गमा पर्ने स्थानीय तहहरूले स्वास्थ्य, विद्युत, खानेपानी, टेलिकम, सडक, ट्राफिक तथा विभिन्न संघ–संस्थासँग समन्वय गरी समयमै आवश्यक व्यवस्थापन गर्ने निर्णय गरेका छन् । यसका लागि नियमित समन्वय बैठक राख्ने व्यवस्था समेत गरिएको छ ।
निर्णयअनुसार, परिक्रमा सहभागी डोलाहरू निर्धारित समयमै प्रस्थान गरेपछि हिँडाइ क्रममा कुन डोला अघि र पछि रहने भन्ने जिम्मेवारी सम्बन्धित मठमन्दिरका महन्थलाई दिइएको छ । साथै, प्रत्येक पडावस्थलमा महत्वपूर्ण डोलाहरूको वासका लागि जमिन छुट्याउने काम वडाध्यक्षको समन्वयमा गरिनेछ ।
१५ दिने माध्यमिकी परिक्रमा अवधिभर भक्तजनको सुविधाका लागि सरसफाइ, विद्युत आपूर्ति, खानेपानी, दाउरा व्यवस्थापन, सडक मर्मत, एम्बुलेन्स सेवा र स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ ।
यसका लागि विद्युत प्राधिकरण, खानेपानी संस्थान, वन कार्यालय, नेपाल रेडक्रस सोसाइटी तथा स्थानीय तहलाई सहकार्य गर्न अनुरोध गरिएको छ ।
परिक्रमा क्षेत्रको धार्मिक मर्यादा कायम राख्न प्रत्येक विश्रामस्थल र त्यसको एक किलोमिटर वरपर २४ घण्टा अगावै पशुपंक्षी बध तथा मासु–मदिरा बिक्री र सेवनमा प्रतिबन्ध लगाइने भएको छ । उल्लंघन गर्नेहरूलाई कानुनअनुसार कारबाही गरिने जनाइएको छ ।
सञ्चार सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले परिक्रमा अवधिभर मोबाइल बीटीएस विस्तार गर्न टेलिकमलाई आग्रह गरिएको छ । साथै, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजी तथा सरकारी स्वास्थ्य संस्थाले चिकित्सकसहित स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय गरिएको छ ।
मुखियापट्टी मुसहरनियाको जमुनी नदीमा पुलको अभावले परिक्रमामा समस्या आउन सक्ने भएकाले तत्काल अस्थायी व्यवस्था गर्न सम्बन्धित पालिकालाई निर्देशन दिइएको छ ।
सुरक्षाका दृष्टिले परिक्रमा अवधिभर सुरक्षा निकायले समन्वयात्मक योजना बनाएर भरपर्दो सुरक्षा व्यवस्था मिलाउने भएका छन् । साथै, डीजे नियन्त्रणका लागि साँझ ८ बजेपछि ध्वनि प्रणाली नचलाउने र अश्लील तथा ठूलो स्वरमा गीत बजाउन नपाइने व्यवस्था कडाइका साथ लागू गरिनेछ ।
धार्मिक तथा सांस्कृतिक संवेदनशीलतालाई ध्यानमा राख्दै धनुषा जिल्लाभित्र परिक्रमा मार्ग र विश्रामस्थलमा कुनै पनि राजनीतिक सभा, जुलुस, प्रदर्शन वा धर्ना गर्न प्रतिबन्ध लगाइएको छ ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका कारण हुने गतिविधिले परिक्रमामा असर नपर्ने गरी कार्यक्रम सञ्चालन गर्न दल र उम्मेदवारलाई आग्रह गरिएको छ ।
सम्बन्धित निकायहरूले परिक्रमाको गरिमा जोगाउँदै यसलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सबै पक्ष सचेत रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

