जनकपुरधाम, २७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) चुनावी अभियानका क्रममा आफ्नो पुर्खौली गाउँ महोत्तरीको एकडारा पुगेका छन् ।

सप्तरीबाट सुरु भएको उनको चुनावी यात्रा सिरहा र धनुषा हुँदै महोत्तरी पुगेको हो ।

यस क्रममा साह सिरहाको गोलबजार, कल्याणपुर हुँदै सिरहा–धनुषा जोड्ने कमला पुल पुगेका थिए । त्यसपछि धनुषाको शहीदनगरस्थित यदुकोहा, धनुषाधाम हुँदै जनकपुरधाम आइपुगेका थिए ।

जनकपुरधाममा विभिन्न स्थानमा तय गरिएका कार्यक्रमहरू भने समय अभावका कारण स्थगित गरिएको बताइएको छ ।

त्यसपछि साह सिधै महोत्तरीको जलेश्वर पुगेका थिए । जलेश्वरस्थित प्रसिद्ध जलेश्वरनाथ महादेव मन्दिरमा बाहिरबाटै दर्शन गरी उनी आफ्नो पुर्खौली गाउँ एकडारा पुगेका हुन् ।

चुनावी अभियानलाई तीव्र बनाउँदै साहले मधेशका विभिन्न जिल्लामा जनसम्पर्क र भेटघाटलाई प्राथमिकता दिँदै अघि बढिरहेका छन् ।

स्थानीय तहका मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो पार्टीका नीति तथा कार्यक्रमबारे जानकारी गराउने उनको प्रयास जारी रहेको छ ।