जनकपुरधाम, २७ माघ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

मंगलबार आयोजित कार्यक्रममा पार्टीले घोषणापत्र सार्वजनिक गर्दै संघर्षको मूल दर्शन ‘स्वदेशवाद’ रहेको स्पष्ट पारेको हो ।

घोषणापत्रमा वर्तमान राज्य संरचना र शासन प्रणालीलाई परिवर्तन गर्दै राज्य र समाजको वैकल्पिक मोडेल प्रस्तुत गरिएको उल्लेख गरिएको छ ।

पार्टीले संविधानको पूर्ण संशोधनमार्फत बहुलराष्ट्रिय लोकतन्त्र स्थापना गर्ने लक्ष्य लिएको जनाएको छ ।

घोषणापत्रअनुसार सबै राष्ट्र तथा समुदायलाई आत्मनिर्णयको अधिकार, स्वायत्तता र समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गरिने प्रतिबद्धता व्यक्त गरिएको छ । यसले समावेशी शासन व्यवस्था र सामाजिक न्याय सुनिश्चित गर्ने पार्टीको दाबी छ ।

कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र महतोले वर्तमान राजनीतिक प्रणालीले सबै समुदायको भावना सम्बोधन गर्न नसकेको भन्दै अब नयाँ वैकल्पिक मार्ग आवश्यक रहेको बताए ।

उनले स्वदेशी उत्पादन, राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरण र आत्मनिर्भरता पार्टीको प्रमुख प्राथमिकता हुनेसमेत उल्लेख गरे ।

घोषणापत्र सार्वजनिकसँगै राष्ट्रिय मुक्ति पार्टीले मधेश, पहाड र हिमालका सबै समुदायलाई एकताबद्ध गर्दै राजनीतिक परिवर्तनको अभियान अघि बढाउने जनाएको छ ।

पार्टीले यस घोषणापत्रमार्फत आगामी चुनावमा जनताको विश्वास जित्ने विश्वास गरेको छ ।