धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको पुत्ला दहन

जनकपुरधाम, २७ माघ । धनुषा निर्वाचन क्षेत्र नम्बर–१ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलविरुद्ध स्थानीयवासीले विरोध प्रदर्शन गर्दै पुत्ला दहन गरेका छन् ।
महेन्द्रनगर–ईच्छापुर जोड्ने जलाद खोला पुल विगत १२ वर्षदेखि अलपत्र अवस्थामा रहँदै आएको भन्दै आक्रोशित स्थानीयले साहको फोटो राखेर पुत्ला दहन गरेका हुन् ।
उक्त पुल निर्माणको जिम्मा लिएका ठेकेदारसमेत रहेका साहले लामो समयसम्म काम पूरा नगरेको आरोप स्थानीयको छ ।
स्थानीयका अनुसार पुल नबन्दा महेन्द्रनगर–धनुषाधाम सडक खण्ड वर्षायाममा पूर्ण रूपमा अवरुद्ध हुने गरेको छ । यसका कारण विद्यार्थी, बिरामी, व्यापारी तथा सर्वसाधारणले दैनिक जीवनमा ठूलो सास्ती भोग्नुपरेको छ ।
प्रदर्शनकारीहरूले पटक पटक सम्बन्धित निकाय र ठेकेदारलाई ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएको गुनासो गरेका छन् ।
उनीहरूले अब राजनीतिक उम्मेदवारीभन्दा पहिले जनताको आधारभूत समस्या समाधान गर्नुपर्ने माग समेत गरेका छन् ।
स्थानीयवासीले छिटोभन्दा छिटो पुल निर्माण सम्पन्न नगरे थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

