सप्तरी, २७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह मंगलबार सप्तरीको सदरमुकाम राजविराज पुगे पनि कार्यकर्ता र समर्थकसँग प्रत्यक्ष भेटघाट नगरी फर्किएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी राजविराज आएका साह गाडीबाट नओर्ली हात हल्लाउँदै मात्र अघि बढेपछि स्थानीय नेता कार्यकर्ता निराश बनेका छन् ।

बिहानैदेखि उनलाई स्वागत गर्न गजेन्द्र चोक र पार्टी कार्यालय आसपासमा ठूलो संख्यामा समर्थकहरू भेला भएका थिए ।

गजेन्द्र चोकमा पुग्दा साहले स्वर्गीय नेता गजेन्द्रनारायण सिंह (गजेन्द्र बाबु)को सालिकतर्फ गाडीबाटै माला अर्पण गरेपछि बिना रोकावट अघि बढेका थिए ।

सालिक नजिकै रहेको पार्टी कार्यालयमा पुग्ने पूर्वनिर्धारित कार्यक्रम रहे पनि उनले गाडी रोकेनन् ।

पछि राजविराजकै एक होटलमा खाना खाएको खबर पाएपछि कार्यकर्ता र समर्थक पुनः फर्कने आशामा करिब एक घण्टाभन्दा बढी पर्खिरहेका थिए । तर, साह खाना खाएर हुलाकी सडक हुँदै पश्चिमतर्फ प्रस्थान गरेपछि पर्खिरहेका समर्थक निराश हुँदै घर फर्किएका हुन् ।

स्थानीय कार्यकर्ताहरूले नेतासँग प्रत्यक्ष संवाद र भेटघाटको अपेक्षा गरे पनि त्यसअनुसारको कार्यक्रम नहुँदा असन्तुष्टि बढेको बताएका छन् ।

निर्वाचन नजिकिँदै गर्दा शीर्ष नेताको यस्तो व्यवहारले कार्यकर्ता मनोबलमा असर पर्ने उनीहरूको भनाइ छ ।