जनकपुरधाम, १८ माघ । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ की नेतृ रुणा झा नेपाली कांग्रेसमा पुनः प्रवेश गरेकी छन् ।

आइतबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका पूर्व उपसभापति तथा धनुषा–३ का प्रतिनिधिसभा उम्मेदवार विमलेन्द्र निधिले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

विभिन्न राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएकी झाले कांग्रेसको नीति, सिद्धान्त र लोकतान्त्रिक मूल्यप्रति विश्वास गर्दै पुनः पार्टीमा फर्किएको बताएकी छन् ।

कार्यक्रममा बोल्दै उनले कांग्रेस नै मुलुकको स्थायित्व, विकास र समावेशी लोकतन्त्रको बलियो आधार भएको उल्लेख गरिन् ।

नेता विमलेन्द्र निधिले झाको पुनरागमनले पार्टी संगठन थप सुदृढ हुने विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा कांग्रेसलाई बलियो बनाउने अभियानमा सबै एकजुट भएर लाग्न आग्रह गरे ।

उनले पार्टीभित्रको एकता र सहकार्यले मात्रै जनताको भरोसा जित्न सकिने बताए ।

कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति रहेको थियो ।

सहभागीहरूले झाको पुनः प्रवेशलाई कांग्रेसका लागि सकारात्मक रूपमा लिएका छन् ।