सीमाबाट डेढ लाख नशालु ट्याब्लेटसहित दुई जना पक्राउ

रौतहट, १८ माघ । नेपाल–भारत सीमावर्ती क्षेत्र हुँदै ठूलो परिमाणमा नशालु औषधि नेपाल भित्र्याउने प्रयास विफल पार्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले दुई जनालाई पक्राउ गरेको छ ।
उनीहरूको साथबाट करिब एक लाख ४८ हजार ५०० प्रतिबन्धित मनोप्रभावी ट्याब्लेट बरामद गरिएको हो ।
एसएसबी ७१औँ बटालियनले विशेष सूचनाका आधारमा पूर्वी चम्पारणबाट नेपालतर्फ नशालु औषधि तस्करी हुन लागेको जानकारी पाएपछि निगरानी बढाएको थियो ।
सोही क्रममा शनिबार साँझ अमवा गाउँ नजिक शङ्कास्पद इलेक्ट्रिक अटो रिक्सा रोकेर जाँच गर्दा ठूलो परिमाणमा ट्रमाडोल ट्याब्लेट फेला परेको हो ।
जाँचका क्रममा पाँच कार्टुनभित्र लुकाइछिपाइ राखिएको ४९५ प्याकेट ट्रमाडोल ५० एमजी बरामद गरिएको एसएसबीले जनाएको छ ।
प्रत्येक प्याकेटमा ३०० वटा ट्याब्लेट रहेको र ती सबै नेपालतर्फ तस्करी हुँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ पर्नेहरू भारत, बिहार राज्य पूर्वी चम्पारणका २२ वर्षीय तपस कुमार र गुलशन कुमार रहेका छन् । बरामद औषधि र उनीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि झरोखर प्रहरी चौकीमा बुझाइएको छ ।
यसैबीच, एसएसबीको अर्को अपरेसनमा नेपालबाट भारततर्फ गाँजा तस्करी गर्दै गरेका एक युवक पनि पक्राउ परेका छन् ।
‘बी’ कम्पनी महुवावा र बिहार प्रहरीको संयुक्त टोलीले करिब दुई किलो गाँजासहित २२ वर्षीय कृष्णा कुमारलाई नियन्त्रणमा लिएको हो ।
धरहरी गाउँ नजिक पक्राउ परेका उनलाई पनि आवश्यक अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा बुझाइएको एसएसबीले जनाएको छ ।
सीमा क्षेत्रमा बढ्दो लागुऔषध र लागू पदार्थ तस्करी नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी कडा बनाएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

