जनकपुरधाम, १८ माघ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मधेश प्रदेशभरि व्यापक सुरक्षा व्यवस्था मिलाइएको छ ।

निर्वाचनलाई लक्षित गर्दै तीन तहको सुरक्षा रणनीति लागू गरिएको छ भने अति संवेदनशील मतदानस्थलमा ड्रोन र सीसी क्यामेरामार्फत निगरानी व्यवस्था गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेशका आठ जिल्लामा रहेका २,१६० मतदानस्थल र ४,४७१ मतदान केन्द्रलाई सुरक्षाको जोखिम मूल्याङ्कनका आधारमा वर्गीकरण गरिएको छ ।

प्रहरीका अनुसार १,२३७ मतदानस्थल र २,६१३ मतदान केन्द्र अति संवेदनशील, ७६३ मतदानस्थल र १,५५४ मतदान केन्द्र संवेदनशील तथा १६० मतदानस्थल र ३०४ मतदान केन्द्र सामान्य श्रेणीमा राखिएका छन् ।

सप्तरी सबैभन्दा संवेदनशील
सुरक्षाको दृष्टिले सप्तरी जिल्ला सबैभन्दा बढी जोखिमयुक्त मानिएको छ । सप्तरीका २९६ मतदानस्थलमध्ये २०९ वटा अति संवेदनशील सूचीमा परेका छन् ।

त्यसैगरी, सिरहाका १५४, धनुषाका १९४, महोत्तरीका १६३, सर्लाहीका १५८, रौतहटका १५२ र बाराका १५४ मतदानस्थल अति संवेदनशील श्रेणीमा राखिएका छन् ।

प्रदेशभरि ७३ वटा मतदानस्थल संवेदनशील सूचीमा परेका छन् । त्यसमा सर्लाहीका १३१ मतदानस्थल सबैभन्दा बढी छन् । सुरक्षामा चुनौती देखिएका क्षेत्रमा विशेष रणनीति अपनाइएको प्रहरीको भनाइ छ ।

विगतका घटना र खुला सीमा चुनौती
मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाका अनुसार मतदानस्थलको वर्गीकरण मतदाताको चाप, सामाजिक सांस्कृतिक परिवेश, विगतका घटना, भौगोलिक अवस्था र राजनीतिक गतिविधिलाई आधार मानेर गरिएको हो ।

उनका अनुसार करिब ४६४ किलोमिटर लामो खुला सीमा निर्वाचन सुरक्षाका लागि ठूलो चुनौती बनेको छ । सीमापारबाट हुने अवैध प्रवेश, दोहोरो मतदाता बन्ने प्रयास तथा अवाञ्छित गतिविधिका कारण सुरक्षा संवेदनशील बन्दै गएको छ ।

‘यी सबै जोखिमलाई मध्यनजर गर्दै संवेदनशील केन्द्रमा सुरक्षा सतर्कता थप सुदृढ बनाइएको छ,’ डीआईजी थपलियाले भने ।

४० हजारभन्दा बढी नेपाल प्रहरी परिचालन
प्रदेशभरि निर्वाचन सुरक्षाका लागि १२ हजार ६०० नेपाल प्रहरी र २८ हजार २९५ म्यादी प्रहरी परिचालन गरिने भएको छ ।

साथै सशस्त्र प्रहरी बल र नेपाली सेनाको समेत सक्रिय सहभागिताले सुरक्षा घेरा मजबुत बनाइएको प्रहरीले जनाएको छ ।

यसैबीच, सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनीका डीआईजी कृष्ण ढकालले आठै जिल्लामा ४,३३६ सशस्त्र प्रहरी र २,८३२ निर्वाचन प्रहरी तयारी अवस्थामा राखिएको जानकारी दिए ।

उनका अनुसार मुख्य निर्वाचन अधिकृत कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मोबाइल टोली तथा रिजर्भ फोर्समार्फत सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सीमावर्ती जिल्लामा विशेष सतर्कता
धनुषा र महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीका अनुसार यी जिल्लाहरू भारतको बिहार राज्यसँग प्रत्यक्ष सीमा जोडिएका छन् ।

धनुषामा मधुवनी र महोत्तरीमा सीतामढीसँग करिब ३९ किलोमिटर सीमा रहेको छ ।

महोत्तरीका २९८ मतदानस्थलमध्ये १६३ अति संवेदनशील, ८९ संवेदनशील र बाँकी सामान्य श्रेणीमा छन् । धनुषाका ३२२ मतदानस्थलमध्ये १९४ अति संवेदनशील, १०६ संवेदनशील र २२ सामान्य सूचीमा राखिएका छन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार सीमा सुरक्षालाई थप मजबुत बनाउन भारतसँग समन्वय बैठकको तयारी भइरहेको छ ।

अन्तरदेशीय समन्वय र सुरक्षा बैठक
महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले निर्वाचन सुरक्षाका लागि भारतसँग सहकार्य आवश्यक रहेको बताए ।

उनका अनुसार पुस २४ गते सीतामढीका सुरक्षा निकायसँग चन्द्रनिगाहपुरमा सुरक्षा बैठक सम्पन्न भइसकेको छ ।

त्यस्तै, फागुन ९ गते जनकपुरधाममा मधुवनी जिल्लाका सुरक्षा अधिकारीसँग सीमा सुरक्षा बैठक गर्ने तयारी भइरहेको धनुषा प्रशासनले जनाएको छ ।

५० हजारभन्दा बढी संयुक्त सुरक्षा फौज
प्रदेशभरि नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी र नेपाली सेनासहित ५० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने योजना रहेको डीआईजी थपलियाले जानकारी दिए ।

नेपाल प्रहरी र निर्वाचन प्रहरीबाट करिब ४० हजार, सशस्त्र प्रहरीबाट १० हजार तथा आवश्यकताअनुसार नेपाली सेनासमेत परिचालन गरिने भएको छ ।

निष्पक्ष निर्वाचनप्रति प्रतिबद्धता
सुरक्षा निकायले मतदातालाई निर्भीक वातावरणमा मतदान गर्न सक्ने अवस्था सिर्जना गर्न सबै तयारी पूरा भएको दाबी गरेको छ ।

अवाञ्छित गतिविधि नियन्त्रण, मतपेटिका सुरक्षादेखि मतगणनासम्म कडा निगरानी गरिने बताइएको छ ।

प्रहरी प्रशासनका अनुसार मतदाताको सहभागिता बढाउन र लोकतान्त्रिक प्रक्रियालाई विश्वसनीय बनाउन सुरक्षा संयन्त्र पूर्ण रूपमा सक्रिय रहनेछ ।

मधेश प्रदेशमा यसपटकको निर्वाचन विगतको तुलनामा अझ व्यवस्थित, सुरक्षित र शान्तिपूर्ण बनाउने लक्ष्यसहित सुरक्षा निकायहरू उच्च सतर्कतामा रहेका छन् ।