मधेशका मुद्दामा एकताबद्ध हुनुपर्छ : परमेश्वर साह

जनकपुरधाम, १७ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपाल धनौजी गाउँपालिकाका अगुवा नेता तथा कार्यकर्ताहरूको बैठक सम्पन्न भएको छ ।
धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार परमेश्वर साहको प्रमुख आतिथ्य तथा धनौजी गाउँपालिकाका अध्यक्ष राम कुमार चौधरीको अध्यक्षतामा बैठक आयोजना गरिएको हो ।
बैठकमा जसपा नेपालको केन्द्रीय समन्वय समितिका सदस्य तथा पूर्व नगर प्रमुख लाल किशोर साह, जिल्ला अध्यक्ष जिवेन्द्र झा, नेता जितेन्द्र यादवसहित पालिकाका विभिन्न वडाबाट आएका अगुवा नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि परमेश्वर साहले मधेशको पहिचान, अधिकार र समावेशी विकासका लागि जसपा नेपालले निरन्तर संघर्ष गर्दै आएको बताए ।
‘मधेशका जनताको आवाज संसदसम्म पुर्याउन राजनीतिक एकता र संगठन सुदृढीकरण आजको आवश्यकता हो,’ उनले भने, ‘धनौजी जस्तो गाउँपालिका विकास, शिक्षा, स्वास्थ्य र रोजगारीका दृष्टिले अझै पछि परेको छ, त्यसलाई अगाडि बढाउन जनतासँगै रहेर काम गरिनेछ ।’
साहले स्थानीय तहदेखि संघीय तहसम्म सुशासन, पारदर्शिता र जनउत्तरदायी नेतृत्व अपरिहार्य रहेको उल्लेख गर्दै कार्यकर्तालाई जनतासँग निरन्तर संवादमा रहन आग्रह गरे । उनले आगामी राजनीतिक चुनौती सामना गर्न संगठनलाई वडा तहसम्म मजबुत बनाउने योजना पनि सार्वजनिक गरे ।
बैठकका अध्यक्ष राम कुमार चौधरीले जसपा नेपाल मधेशका जनताको हक अधिकारको विश्वसनीय पार्टी भएको बताउँदै स्थानीय नेतृत्व र कार्यकर्ताबीचको एकताले मात्र राजनीतिक लक्ष्य हासिल गर्न सकिने धारणा राखे । उनले पालिकाभित्र विकासका क्रममा देखिएका समस्या र सम्भावनाबारे पनि छलफल भएको जानकारी दिए ।
त्यसैगरी केन्द्रीय समन्वय समितिका सदस्य लाल किशोर साहले पार्टीको संगठन विस्तार र जनआधार मजबुत बनाउने अभियानलाई तीव्रता दिनुपर्ने बताए । जिल्ला अध्यक्ष जिवेन्द्र झाले आगामी दिनमा पार्टीका कार्यक्रमहरू व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।
बैठकमा संगठन सुदृढीकरण, स्थानीय मुद्दा, आगामी राजनीतिक रणनीति तथा जनतासँगको सम्बन्ध अझ प्रगाढ बनाउने विषयमा छलफल भएको थियो । सहभागीहरूले मधेश केन्द्रित एजेन्डामा एकजुट भएर अघि बढ्ने संकल्पसमेत व्यक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

