जनकपुरधाममा १२५ ई–रिक्सा चालकलाई परिचय पत्र वितरण

जनकपुरधाम, १७ माघ । नेपाल ई–रिक्सा मजदुर संगठनले ई–रिक्सा चालकहरूको पहिचान, सुरक्षा र पेशागत सम्मानलाई मजबुत बनाउने उद्देश्यले परिचय पत्र वितरण गरेको छ ।
जनकपुरधाममा शनिबार आयोजित कार्यक्रममा १२५ जना ई–रिक्सा चालकलाई औपचारिक रूपमा परिचय पत्र प्रदान गरिएको हो ।
कार्यक्रम संगठनका अध्यक्ष विरेन्द्र कुमार महतोको अध्यक्षतामा सम्पन्न भएको थियो । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह प्रमुख अतिथिका रूपमा सहभागी थिए भने यातायात व्यवस्था कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख विशेष अतिथि रहेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुँवर, ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख सूर्यबहादुर शाही, धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार दिवाकार साह, नेपाली कांग्रेसका नेता मनोज चौधरीलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा ई–रिक्सा चालकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख साहले ई–रिक्सा चालकहरू जनकपुरधामको दैनिकीसँग प्रत्यक्ष जोडिएको श्रमिक वर्ग भएको बताए ।
‘ई–रिक्सा यातायातको साधन मात्र नभई यो हजारौं परिवारको रोजगारीको स्रोत हो,’ उनले भने, ‘परिचय पत्रले चालकहरूको पहिचान स्थापित गर्नुका साथै यात्रु र चालक दुवैको सुरक्षा सुनिश्चित गर्न मद्दत गर्नेछ । उपमहानगरपालिका सधैं श्रमिकमैत्री नीतिमा प्रतिबद्ध छ ।’

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले परिचय पत्र वितरणलाई सकारात्मक कदमको रूपमा लिँदै यसले आपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुग्ने बताए ।
‘सवारी चालकको स्पष्ट पहिचान हुँदा शान्ति सुरक्षा व्यवस्थापन सहज हुन्छ,’ उनले भने, ‘प्रहरी र श्रमिकबीच समन्वय बढाउन यस्ता पहल आवश्यक छन् ।’
त्यसैगरी, ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख सूर्यबहादुर शाहीले ई–रिक्सा चालकहरूलाई ट्राफिक नियमको पालना गर्न आग्रह गर्दै संगठनसँग मिलेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।
स्वतन्त्र उम्मेदवार दिवाकार साहले ई–रिक्सा चालकहरू निम्न र मध्यम वर्गको आर्थिक मेरुदण्ड भएको उल्लेख गर्दै राज्यले उनीहरूको हकहितका लागि स्पष्ट नीति ल्याउनुपर्ने बताए ।
नेपाली कांग्रेसका नेता मनोज चौधरीले श्रमिकलाई संगठित गर्ने अभियानको प्रशंसा गर्दै स्थानीय तह, यातायात कार्यालय र संगठनबीच सहकार्य आवश्यक रहेको धारणा राखे ।
कार्यक्रमका अध्यक्ष विरेन्द्र कुमार महतोले संगठन स्थापनाको उद्देश्य ई–रिक्सा चालकलाई संगठित, अनुशासित र सुरक्षित बनाउनु रहेको स्पष्ट पारे ।
‘पहिचान नहुँदा चालकहरू विभिन्न समस्या भोग्दै आएका थिए,’ उनले भने, ‘यो परिचय पत्र कार्ड मात्र नभई चालकको अधिकार, सम्मान र सुरक्षा पनि हो । यसले यात्रुलाई पनि सहजता प्रदान गर्छ । ई–रिक्सा चालकलाई आगामी दिनमा बीमा, तालिम र सामाजिक सुरक्षाको पहल पनि अघि बढाइनेछ ।’
परिचय पत्र प्राप्त गरेका चालकहरूले आफूहरूलाई पहिलो पटक औपचारिक रूपमा मान्यता प्राप्त भएको अनुभूति भएको प्रतिक्रिया दिएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

