जनकपुरधाम, १७ माघ । ब्याहुत सेवा समिति कलवार कुटीको निर्वाचन पश्चात् शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

निर्वाचन प्रमुख उमेश साहको नेतृत्व तथा व्यवस्थापनमा सम्पन्न कार्यक्रममार्फत नवनिर्वाचित पदाधिकारीहरूले औपचारिक रूपमा जिम्मेवारी ग्रहण गरेका हुन् ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्याम प्रसाद साहसहित सम्पूर्ण पदाधिकारी एवं कार्यसमिति सदस्यहरूलाई शपथ गराई जिम्मेवारी हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै निर्वाचन प्रमुख उमेश साहले निष्पक्ष, पारदर्शी र सफल निर्वाचन सम्पन्न भएकोमा धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित कार्यसमितिले संस्थाको उद्देश्यअनुसार सेवा, सहकार्य र विकासमा अग्रसर हुने विश्वास व्यक्त गरे ।

नवनिर्वाचित अध्यक्ष श्याम प्रसाद साहले आफ्नो धारणा राख्दै समितिप्रति देखाइएको विश्वासप्रति धन्यवाद व्यक्त गर्दै सबैलाई साथमा लिएर संस्थाको उन्नति र सामाजिक सेवामा क्रियाशील रहने प्रतिबद्धता जनाए ।