जनकपुरधाममा टि–२० क्रिकेट प्रतियोगिता सुरु, १६ वडाका टिमको सहभागिता

जनकपुरधाम, १७ माघ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ बाल्मिकीनगरस्थित बलवा टोलमा शनिबारदेखि टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
मिथिला बारियरको आयोजना तथा परिक्रम सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी साझेदारी बाल्मिकीनगरको सहकार्यमा स्थानीय युवा अभियन्ता रञ्जित रायको समन्वयमा प्रतियोगिता सञ्चालन गरिएको हो ।
प्रतियोगितामा जनकपुरधामका विभिन्न १६ वटा वडाबाट टिमहरूको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन सामाजिक अभियन्ता तथा चर्म रोग विशेषज्ञ डा. प्रसन्न झा र रेडियो नेपालका संवाददाता अजय कुमार झाले संयुक्त रूपमा गरे ।
उद्घाटन खेल कनकपट्टी र बसहिया क्रिकेट टिमबीच सम्पन्न भएको थियो । वाल्मीकि प्रहरी चौकीसँगै रहेको सार्वजनिक खेल मैदानमा भइरहेको प्रतियोगिता १० दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेता टिमलाई ३५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमलाई २१ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने युवा अभियन्ता रञ्जित रायले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा बाल्मिकीनगर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक चन्दु वैठा, स्थानीय युवा अभियन्ता, समाजसेवी तथा खेलाडीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रतिक्रिया दिँदै चिकित्सक डा. झाले युवाहरूलाई कुलत तथा अन्य नकारात्मक गतिविधिबाट टाढा राख्न खेलकुद प्रभावकारी माध्यम भएको बताउँदै शारीरिक र मानसिक स्वास्थ्यका लागि यस्ता प्रतियोगिता आवश्यक रहेको धारणा राखे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

