जनकपुरधाममा फुटपाथ अतिक्रमण विरुद्ध हस्ताक्षर अभियान

जनकपुरधाम, १७ माघ । जनकपुरधामका मुख्य सडक तथा बजार क्षेत्रमा बढ्दो फुटपाथ अतिक्रमण विरुद्ध पत्रकार ध्रुब झाको पहलमा हस्ताक्षर अभियान सञ्चालन गरिएको छ ।
सर्वसाधारणको हिँडडुलमा समस्या सिर्जना गर्दै आएको अव्यवस्थित व्यापार र अतिक्रमण हटाउन दबाब दिने उद्देश्यले अभियान सुरु गरिएको हो ।
धनुषा निर्वाचन क्षेत्र नम्बर-३ बाट जसपाको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार परमेश्वर साहसहितको उपस्थितिमा सुरु गरिएको अभियानमा स्थानीय नागरिक, व्यापारी तथा सामाजिक अभियन्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै उम्मेदवार साहले जनकपुरधामलाई व्यवस्थित, सुन्दर र नागरिकमैत्री शहर बनाउन फुटपाथ अतिक्रमण नियन्त्रण अनिवार्य रहेको बताए ।
‘सडक र फुटपाथ आम नागरिकको साझा सम्पत्ति हुन् । तिनको दुरुपयोग रोक्न स्थानीय सरकार, प्रहरी र नागरिक सबैको सहकार्य आवश्यक छ,’ उनले भने ।
साहले निर्वाचित भएमा शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै फुटपाथ अतिक्रमणमुक्त अभियानलाई संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
अभियानका संयोजक पत्रकार ध्रुब झाले विगत डेढ वर्षदेखि निरन्तर रूपमा फुटपाथ अतिक्रमण विरुद्ध आवाज उठाउँदै आएको उल्लेख गरे ।
‘जनकपुरधाममा पैदल यात्री सुरक्षित रूपमा हिँड्न नपाउने अवस्था गम्भीर समस्या हो । यो सौन्दर्यको विषय नभई नागरिक अधिकारको विषय हो,’ झाले भने ।
उनले प्रशासनको उदासीनताका कारण समस्या झन् जटिल बन्दै गएको भन्दै अब नागरिक दबाबमार्फत समाधान खोज्ने अभियान सुरु गरिएको बताए । हस्ताक्षर संकलनपछि सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाइने योजना रहेको उनको भनाइ छ ।
स्थानीय बासिन्दाहरूले पनि अभियानलाई स्वागत गर्दै जनकपुरधामलाई व्यवस्थित शहर बनाउन यस्ता नागरिक पहल निरन्तर हुनुपर्नेमा जोड दिएका छन् ।





तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

