महोत्तरी, १६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि महोत्तरी–३ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

दलका शीर्ष नेताहरूको मनोमानी र परिवारवादविरुद्ध बागी उम्मेदवारहरू मैदानमा उत्रिएपछि यस क्षेत्रको चुनावी माहोल थप रोचक बनेको हो ।

विगतका दुई निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष तथा हाल जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक महन्त ठाकुरले यो क्षेत्रमा विजय हासिल गरेका थिए । तर, यसपटक उनी राष्ट्रिय सभातर्फ उन्मुख भएपछि अन्तिम समयमा आफ्नी छोरी डा. मिनाक्षी ठाकुरलाई उम्मेदवार बनाएका छन् ।

पार्टीभित्र परिवारवाद हाबी भएको आरोप लगाउँदै पूर्वकृषिमन्त्री हरिनारायण यादवले जसपा नेपालबाट विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसले जसपाभित्रै आन्तरिक असन्तुष्टि सतहमा आएको देखिएको छ ।

यस्तै, पटकपटक निर्वाचनमा पराजित भइसकेका एमाले नेता रामअधार कापरले पनि पार्टीविरुद्ध विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

२०७४ र २०७९ को निर्वाचनमा महन्त ठाकुरलाई सहयोग गर्दै आएको नेपाली कांग्रेसले यसपटक भने आफ्नै नेता बजरंग नेपालीलाई उम्मेदवार बनाएको छ ।

यसअघि ठाकुरलाई जिताउन दुईपटक भूमिका खेलेका कांग्रेस नेता नेपालीले अब ठाकुरकी छोरी मिनाक्षीसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको छ ।

उता, २०७९ को प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा पराजित भई पछि जसपामा प्रवेश गरेका उज्ज्वल झा चुनावको मुखमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरी उम्मेदवार बनेका छन् ।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको समर्थनपछि उज्ज्वल झाको उम्मेदवारीले क्षेत्र नम्बर ३ को प्रतिस्पर्धा अझ रोचक बनेको छ ।

महोत्तरी–३ मा ५९ हजार ९५० पुरुष र ५० हजार ८८६ महिला गरी कुल एक लाख १० हजार ४ सय ३६ मतदाता रहेका छन् । यस क्षेत्रमा ४१ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

जनमत पार्टी, राप्रपा, आम जनता पार्टीलगायतका दलबाट पनि नयाँ उम्मेदवार मैदानमा उत्रिएका छन् । अधिकांश उम्मेदवारहरूले शिक्षा, स्वास्थ्य, सडकजस्ता पुरानै मुद्दालाई केन्द्रमा राख्दै मतदातामाझ पुग्न थालेका छन् ।

परिवारवाद, बागी उम्मेदवारी र नयाँ–पुराना राजनीतिक शक्तिको टकरावले महोत्तरी–३ को निर्वाचनलाई यसपटक विशेष चासोको विषय बनाएको छ ।