जनकपुरधाम, १६ माघ । मधेश प्रदेशमा पछिल्लो ६ महिनाको अवधिमा बेपत्ता हुने तथा सम्पर्कविहीन हुने व्यक्तिको सङ्ख्या चिन्ताजनक रूपमा बढेको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार यस अवधिमा २ हजार ५७२ जना सम्पर्कविहीन भएका छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले पुस महिनामा मात्र १ हजार ४४८ जना सम्पर्कविहीन भएको जानकारी दिए । तीमध्ये ६ महिनामा १ हजार ५०१ जना फेला परे पनि बाँकी अझै बेपत्ता अवस्थामा रहेका छन् ।

यसैबीच, जेनजी आन्दोलनका क्रममा मधेश प्रदेशमा भएको क्षतिको विवरण पनि प्रहरीले सार्वजनिक गरेको छ । प्रवक्ता थापाका अनुसार आन्दोलनका क्रममा प्रदेशमा चारजनाको मृत्यु भएको थियो भने २३४ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

सरकारी कार्यालयमा भएको क्षतिको कुल मूल्य ५७ करोड ३५ लाख ५२ हजार १२५ रुपैयाँ बराबर आँकलन गरिएको छ । साथै, आन्दोलनका क्रममा प्रहरीका सवारी साधनहरूमा समेत क्षति पुगेको बताउँदै करिब २ करोड ६ लाख ७८ हजार ३८० रुपैयाँ बराबरको नोक्सानी भएको उनले जानकारी दिए ।

जेनजी आन्दोलनकै क्रममा प्रदेशका विभिन्न कारागारबाट १ हजार ४५ जना कैदीबन्दी फरार भएका थिए । तीमध्ये हालसम्म ५७९ जनालाई पक्राउ गरिएको छ भने बाँकी अझै फरार छन् ।

त्यसैगरी, बाल सुधार गृहबाट ६८ जना फरार भएकोमा २० जनालाई नियन्त्रणमा लिइसकिएको र ४८ जना अझै फरार रहेको प्रवक्ता थापाले बताए ।

प्रदेशमा बढ्दो बेपत्ता तथा आन्दोलनजन्य क्षतिले सुरक्षा चुनौती थपिँदै गएको देखिएको छ ।

प्रहरी प्रशासनले फरार व्यक्तिको खोजी तथा सुरक्षाको अवस्था सुदृढ बनाउने कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ ।