कपिलेश्वरबाट विमलेन्द्र निधिको चुनावी अभियान औपचारिक रूपमा सुरू

जनकपुरधाम, १६ माघ । नेपाली कांग्रेसले जनकपुरधाम–१६ स्थित कपिलेश्वरमा आयोजना गरेको चुनावी सभाबाट धनुषा–३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विमलेन्द्र निधिले आफ्नो विधिवत् चुनावी अभियानको सुरुवात गरेका छन् ।
सभाको पहिलो दिन आयोजित कार्यक्रममा बोल्दै नेता निधिले लोकतन्त्र, सुशासन, विकास र जनताको अधिकार संरक्षण आफ्नो प्रमुख एजेण्डा रहेको बताए ।
उनले मधेशको समग्र विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
निधिले विगतमा मधेशका मुद्दा उठाउँदै आएको उल्लेख गर्दै अब पनि जनताको भरोसा र समर्थनले संसदमा सशक्त आवाज बन्ने दाबी गरे ।
‘मधेशको आवाज राष्ट्रिय राजनीतिमा बलियो बनाउन फेरि जनताको साथ आवश्यक छ,’ उनले भने ।
कार्यक्रममा विशेष रूपमा केही दिनअघिसम्म अलग–अलग खेमामा देखिएका जीवनाथ चौधरी पनि नेता निधिसँग एउटै मंचमा देखिनु राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ । यसले नेपाली कांग्रेसभित्रको एकता सन्देश दिएको छ ।
नेता निधिसँगै चौधरीले पनि पार्टीलाई जित दिलाउन सबै नेता कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । उनले व्यक्तिगत मतभेदभन्दा पार्टी र जनताको हित ठूलो भएको बताए ।
कपिलेश्वरमा आयोजित सभामा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । सभासँगै आजदेखि विमलेन्द्र निधिको चुनावी अभियान औपचारिक रूपमा सुरु भएको कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेसले धनुषा–३ मा बलियो संगठन र जनसमर्थनका आधारमा जित सुनिश्चित गर्ने दाबी गरेको छ ।
आगामी दिनमा गाउँगाउँ पुगेर मतदाता भेटघाट तथा चुनावी कार्यक्रमलाई तीव्र बनाइने पार्टीले जनाएको छ ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

