बारा, १६ माघ । जनता समाजवादी पार्टी नेपालले बारा जिल्लाको परवानीपुर गाउँपालिका–५ बहुअरीमा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनलाई लक्षित गर्दै आयोजित भेलामा पार्टी संगठनलाई बलियो बनाउने र उम्मेदवारको जित सुनिश्चित गर्ने रणनीतिबारे विस्तृत छलफल गरिएको हो ।

भेलामा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल प्रमुख अतिथिका रूपमा सहभागी थिए । उनले मधेशका जनताको हकअधिकार, सामाजिक न्याय र समावेशी विकासका लागि जनता समाजवादी पार्टीको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता रामचन्द्र सिंह तथा बारा क्षेत्र नम्बर–४ का क्षेत्रीय अध्यक्ष सिताराम लगाउतले आगामी निर्वाचनमा छाता छापका उम्मेदवार सन्जु साहलाई विजयी बनाउन अगुवा कार्यकर्ताहरू एकजुट भएर लाग्नुपर्ने बताए ।

उनीहरूले घरदैलो कार्यक्रम, जनसम्पर्क अभियान र संगठन विस्तारमार्फत जनताको विश्वास जित्नुपर्ने आवश्यकता औँल्याए ।

भेलामा मोहन पटेल, परवानीपुर–५ का वडाध्यक्ष रामेश्वर साहलगायत पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

भेलाले आगामी दिनमा चुनावी गतिविधिलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने निर्णयसमेत गरेको जनाइएको छ ।