जनकपुरधाम, १५ माघ । राज्यको पर्याप्त ध्यान नपुगेको अवस्थामा राष्ट्रिय क्रिकेट खेलाडी हरिशंकर साहले व्यक्तिगत प्रयास र साथीभाइहरूको सहयोगमा जनकपुरधामको क्रिकेटका लागि अत्यावश्यक पिच रोलर ल्याउन सफल भएका छन् ।

लामो समयदेखि पिच रोलरको अभावका कारण यहाँ नियमित अभ्यास तथा प्रतियोगिता सञ्चालनमा कठिनाइ हुँदै आएको थियो ।

खेलाडीहरू असहज अवस्थामा अभ्यास गर्न बाध्य थिए । तर, अब हरिशंकरको पहलपछि जनकपुरधामको क्रिकेट पूर्वाधारमा नयाँ आशा पलाएको छ ।

राष्ट्रिय टोलीका सदस्यसमेत रहेका साहले आफ्नै स्रोत, समय र प्रयास लगाएर यो पहल गरेका हुन् । स्थानीय युवाहरू, खेलप्रेमी तथा उनका साथीभाइहरूको सहयोगमा पिच रोलर ल्याइएको हो ।

साह भन्छन्, ‘जनकपुरधामबाट धेरै प्रतिभाशाली खेलाडी निस्कन सक्छन् । तर, सुविधा नहुँदा उनीहरू पछाडि परिरहेका छन् । म आफैंले भोगेको समस्यालाई समाधान गर्न सानो प्रयास गरेको हुँ । यो शुरुवात मात्र हो, अब यहाँका खेलाडीलाई राम्रो वातावरण दिन सबै मिलेर लाग्नुपर्छ ।’

उनका अनुसार राज्य र सम्बन्धित निकायले ध्यान नदिए पनि व्यक्तिगत प्रयासबाट केही परिवर्तन सम्भव हुने उदाहरण यो पहलले दिएको छ ।

स्थानीय क्रिकेट प्रशिक्षक तथा खेलप्रेमीहरूले पनि साहको कामको खुलेर प्रशंसा गरेका छन् । उनीहरूका अनुसार पिच रोलर आएपछि मैदानको स्तर सुधार हुनेछ । नियमित प्रतियोगिता सञ्चालनमा सहजता आउने र युवा खेलाडीहरूको मनोबल बढ्ने उनीहरूको भनाई छ ।

स्थानीय खेलप्रेमी भवेश मिश्र भन्छन्, ‘सरकारले गर्नुपर्ने काम हरिशंकरले व्यक्तिगत रूपमा गरेर देखाए । यसले हामी सबैलाई प्रेरणा दिएको छ ।’

रंगभूमि मैदान जनकपुरधामको क्रिकेट गतिविधिको केन्द्र मानिन्छ । अब पिच रोलरको उपलब्धतासँगै यहाँ प्रदेशस्तरीय तथा राष्ट्रियस्तरका प्रतियोगिता आयोजना हुने विश्वास गरिएको छ ।

हरिशंकरको यो पहलले जनकपुरधामको क्रिकेट विकासमा नयाँ ऊर्जा थपेको छ ।

व्यक्तिगत प्रयासबाट पनि ठूलो परिवर्तन सम्भव हुने सन्देश उनले युवापुस्तासम्म पुर्‍याएका छन् ।