जनकपुरधाम, १५ माघ । प्रेस सेन्टर नेपालले आफ्नो २२औँ स्थापना दिवसको अवसरमा पत्रकार तथा साहित्यकार रोशन जनकपुरीलाई सम्मान गरेको छ ।

बिहीबार आयोजित अन्तरक्रिया कार्यक्रममा मार्क्सवादी विचारक समेत रहेका जनकपुरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

समारोहमा बोल्दै जनकपुरीले क्रान्तिकारी पत्रकार संघको स्थापनाकालदेखि नै वर्गीय आन्दोलन र आवाजविहीनका लागि पत्रकारितामा योगदान गर्दै आएको स्मरण गरे ।

उनले जनयुद्धकालमा मुलुकका पाँच ठाउँमा जनगणतन्त्र रेडियो स्थापना गरी जनपक्षीय र वर्गीय आन्दोलनमा भूमिका खेलेको समेत बताए । साथै, राज्यको आलोचना गर्ने वाम र मार्क्सवादीबिचको भिन्नतालाई लिएर बहस र छलफल आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता मातृकाप्रसाद यादवले आसन्न प्रतिनिधिसभा निर्वाचनमा जनताले विवेकपूर्ण र निर्भीक मतदान गर्नुपर्नेमा जोड दिए ।

धनुषा–१ का उम्मेदवार समेत रहेका यादवले जनताका लागि विचार, नीति र जनमुखी काममा लागि रहेका नेताहरुलाई समर्थन गर्नुपर्ने बताए ।

धनुषा–३ का उम्मेदवार रामललित मण्डलले परम्परागत राजनीतिमा आधारित नेताहरु जनताको वास्तविक समस्या बुझ्न नसकेको र भ्रष्टाचारमा लिप्त रहेको बताए । त्यस्तै, जेनजी युवा संजयकुमार महतोले प्रेस सेन्टरको श्रमजीवि पत्रकारका लागि योगदानको प्रशंसा गर्दै जनमुखी पत्रकारितालाई निरन्तरता दिनुपर्ने सुझाए ।

समारोहमा नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका संस्थापक महासचिव किरण कर्ण, प्रेस सेन्टर धनुषाका अध्यक्ष दीपककुमार मिश्र, नेकपा नेता दीपक यादव, पत्रकार महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र महतो, समाजवादी प्रेस संगठन धनुषाका अध्यक्ष विकास कुमार साहले शुभकामना मन्तव्य दिएका थिए ।