जसपा नेपालका उम्मेदवार परमेश्वर साह चुनावी अभियानमा

जनकपुरधाम, १५ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट धनुषा–३ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार परमेश्वर साह निर्वाचन लक्षित भेटघाट तथा प्रचारप्रसारमा सक्रिय देखिएका छन् ।
चुनावी अभियानलाई तीव्र बनाउँदै साहले गाउँ, टोल र बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै पार्टीका नीति, कार्यक्रम र प्रतिबद्धताबारे जानकारी गराइरहेका छन् ।
यस क्रममा उनले पार्टीका नेता तथा कार्यकर्तालाई एकताबद्ध र संगठित भएर चुनावी मैदानमा उत्रिन निर्देशनसमेत दिएका छन् ।
एक भेटघाट कार्यक्रममा साहले भने, ‘यो चुनाव केवल व्यक्तिको जितहारको विषय नभई मधेश र आम नागरिकको अधिकार, पहिचान र विकाससँग जोडिएको छ । त्यसैले सबै नेता कार्यकर्ता अनुशासित र एकजुट भएर पार्टीका उम्मेदवारलाई जिताउन लाग्नुपर्छ ।’
साहले चुनावी अवधिभर संगठनभित्र विभिन्न पद तथा जिम्मेवारीमा रहेका नेता कार्यकर्तालाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्दै घरदैलो अभियान, सभा, छलफल र अन्तरक्रियालाई प्रभावकारी बनाउने रणनीतिमा पार्टी अघि बढेको जानकारी दिए ।
जसपा नेपालले यस निर्वाचनमा संगठन सुदृढीकरण र जनसमर्थन विस्तारलाई मुख्य प्राथमिकतामा राखेको छ । सोहीअनुसार साहको नेतृत्वमा प्रचार टोलीले निरन्तर मतदाता भेटघाट, सुझाव संकलन र जनसमस्या पहिचान गर्ने काम गरिरहेको छ ।
आगामी दिनमा प्रचार अभियानलाई अझ सशक्त बनाउँदै निर्णायक नतिजा ल्याउने लक्ष्यका साथ जसपा नेपाल मैदानमा उत्रिएको साहको भनाइ छ ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

