जनकपुरधाम, १५ माघ । थारु आयोगका सदस्य भोलाराम चौधरीले आर्थिक वर्ष २०८१/०८२ मा आयोगले सम्पादन गरेका गतिविधि तथा कामकारबाही समेटिएको सातौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णसमक्ष पेश गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालय जनकपुरधाममा बिहीबार चौधरीले नेपालको संविधानको धारा २९४ को उपधारा (९) बमोजिम प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

प्रतिवेदनमा थारु समुदायको हकहित र अधिकार संरक्षणका लागि आयोगले गरेको अध्ययन, अनुगमन, सिफारिस तथा विभिन्न कार्यक्रमहरूको विवरण समेटिएको छ । साथै, सामाजिक, आर्थिक र शैक्षिक विकासका क्षेत्रमा गरिएका पहलहरू समेत उल्लेख गरिएको छ ।

प्रदेश प्रमुख कर्णले आयोगले प्रस्तुत गरेको प्रतिवेदनलाई महत्वपूर्ण दस्तावेजको रूपमा लिँदै यसमा उल्लेखित सुझाव तथा निष्कर्षलाई कार्यान्वयनतर्फ लैजान सम्बन्धित निकायलाई पहल गर्नुपर्ने बताए ।

थारु आयोगले समुदायको समग्र उत्थानका लागि सरकारसँग सहकार्य गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ ।