गणतन्त्र जोगाउनु नै शहीद दुर्गानन्द झाप्रतिको सच्चा श्रद्धाञ्जली : विमलेन्द्र निधि

जनकपुरधाम, १५ माघ । नेपाली कांग्रेसका पूर्वउपसभापति तथा पूर्वउपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले नेपालको प्रथम गणतान्त्रिक शहीद दुर्गानन्द झाको सपना साकार पार्न संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।
शहीद दुर्गानन्द झाको शहादत दिवसको अवसरमा धनुषा निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत विभिन्न स्थानमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुँदै निधिले गणतन्त्रविरुद्ध देखिन थालेका गतिविधिप्रति चिन्ता व्यक्त गरे ।
उनले शहीदहरूको बलिदानीबाट प्राप्त लोकतान्त्रिक व्यवस्थामाथि कुनै पनि प्रकारको खतरा आउन नदिन सबै राजनीतिक शक्ति र नागरिक सचेत हुनुपर्नेमा जोड दिए ।
‘शहीद दुर्गानन्द झाले देख्नुभएको समावेशी, स्वतन्त्र र लोकतान्त्रिक नेपालको सपना आज संघीय लोकतान्त्रिक गणतन्त्रको रूपमा साकार भएको छ,’ निधिले भने, ‘अब यस व्यवस्थालाई कमजोर पार्ने प्रयासलाई असफल बनाउनु नै उहाँप्रतिको सच्चा सम्मान हो ।’
निधिले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ स्थित लादोबेलामा रहेको शहीद झाको पूर्णकदको शालिक तथा जटहीस्थित शहीद दुर्गानन्द झा प्रवेशद्वारमाथिको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए । ती शालिकहरू वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय राजेश्वर नेपालीको पहलमा निर्माण गरिएका हुन् ।

वडा नम्बर–२३ मा आयोजित श्रद्धाञ्जली तथा योग साधना शिविर कार्यक्रमको नेतृत्व स्वर्गीय नेपालीका सुपुत्र वडाध्यक्ष राघवेन्द्र साहले गरेका थिए ।
जटहीमा आयोजित श्रद्धाञ्जली सभामा कांग्रेस नेता तथा प्रदेशसभा सदस्य रामसरोज यादव, धनुषा जिल्ला सभापति योगेन्द्र पजियार, नेता स्मृति नारायण चौधरी, जनकपुरधामका नगर प्रमुख मनोज कुमार साह, विभिन्न पालिकाका प्रमुखहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी नेताहरूले शहीद दुर्गानन्द झाको योगदान स्मरण गर्दै लोकतन्त्र, प्रेस स्वतन्त्रता र सामाजिक न्यायका लागि उनले गरेको बलिदान सधैं प्रेरणादायी रहने बताएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

