बारा, १५ माघ । बाराको परवानीपुर गाउँपालिकामा भएको एकै परिवारका दुई जनाको हत्या प्रकरणमा प्रहरीले मृतककी बुहारी र उनका प्रेमी भनिएका व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा घटनाको मुख्य कारण विवाहेतर सम्बन्धबाट उत्पन्न पारिवारिक विवाद रहेको खुलेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार बिहान परवानीपुर गाउँपालिका–१ रहरिया डिहस्थित ५० वर्षीय जगरुप मण्डलको घरमा सुतेका परिवारमाथि धारिलो हतियार प्रहार गरिएको थियो । उक्त घटनामा जगरुपका ३१ वर्षीय छोरा राम ईश्वर मण्डल र ४६ वर्षीया श्रीमती सुमित्रा मण्डलको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनामा घरमुली जगरुप मण्डल र उनकी २१ वर्षीया छोरी रिना कुमारी मण्डल गम्भीर घाइते भएका छन् । उनीहरूको हाल एल.एस. न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार मृतकहरूको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको छ ।

प्रहरी अनुसन्धान टोलीले घटनाको सूक्ष्म अध्ययनपछि मृतक राम ईश्वरकी २३ वर्षीया श्रीमती मनिता देवी मण्डल र उनका प्रेमी भनिएका प्रसौनी गाउँपालिका–७ बन्जरिया टोलका २७ वर्षीय धर्मेन्द्र महतो धानुकलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानअनुसार धर्मेन्द्र वैदेशिक रोजगारीका क्रममा युएईमा रहेका थिए । उनी गत माघ ११ गते नेपाल फर्किएपछि घरपरिवारसँग सम्पर्क नगरी मनिता देवीसँग मिलेर हत्या योजना बनाएको पाइएको प्रहरीले जनाएको छ ।

घटनापछि फरार रहेका धर्मेन्द्रलाई विश्रामपुर गाउँपालिका–४ को मुसहर्वा नाकाबाट भारततर्फ भाग्न खोज्दा पक्राउ गरिएको हो । त्यस्तै, घाइते अवस्थामा उपचार गराइरहेकी मनिता देवीलाई अस्पतालबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी ज्यानसम्बन्धी कसुरमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

प्रहरीले घटनाको सबै पक्षबारे गहिरो अनुसन्धान जारी रहेको जनाउँदै दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेको छ ।