शहीद दुर्गानन्द झालाई राष्ट्रिय विभूति घोषणा गर्न माग

जनकपुरधाम, १५ माघ । प्रथम गणतन्त्रवादी शहीद दुर्गानन्द झाको ६२औँ बलिदान दिवसका अवसरमा उनलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ ।
शहीद दुर्गानन्द स्मारक संरक्षण समितिद्वारा आयोजित बलिदान दिवस समारोहमा सहभागी वक्ताहरूले सरकारसमक्ष सो माग राखेका हुन् ।
कार्यक्रममा मधेश प्रदेशका सभामुख रामआशिष यादवले शहीद दुर्गानन्द झा देश र जनताका लागि प्रेरणाको स्रोत भएको उल्लेख गर्दै उनको योगदान, भूमिका र बलिदानलाई संस्थागत रूपमा संरक्षण गर्न विशेष अभिलेखालय स्थापना गर्नुपर्ने आवश्यकता औँल्याए । साथै, स्वर्गीय पत्रकार राजेश्वर नेपालीको पहलमा निर्माण गरिएको पूर्णकदको सालिकप्रति आभार व्यक्त गरे ।
पूर्वमन्त्री जुलीकुमारी महतोले राणा शासनविरुद्ध लडेका गंगालाल, धर्मभक्त, दशरथचन्द र शुक्रराजले राजाको सहयोग पाए पनि शहीद दुर्गानन्द झाले राजतन्त्रको अन्त्यका लागि आफ्नै जीवन बलिदान दिएको उल्लेख गरिन् । उनले दुर्गानन्द झाको बलिदान नेपालको गणतान्त्रिक आन्दोलनको महत्वपूर्ण आधार भएको बताइन् ।
स्मारक संरक्षण समितिका अध्यक्ष तथा वडाध्यक्ष राघवेन्द्र साहले शहीद दुर्गानन्द झा शोषण, दमन र उपेक्षाविरुद्ध लड्ने प्रेरणाको स्रोत भएको बताए । उनले दुर्गानन्द झा जस्ता व्यक्तित्वले सयौँ शहीद जन्माउने बाटो खोलिदिएको उल्लेख गर्दै तीन करोड नेपालीका माझ उनी प्रथम गणतन्त्रवादी शहीदका रूपमा परिचित रहेको दाबी गरे । साथै, २०६५ साल असार ९ गते जनकपुर बौद्धिक समाजका अध्यक्ष राजेश्वर नेपालीको अध्यक्षतामा सात सदस्यीय स्मारक निर्माण समिति गठन गरिएको जानकारी दिए ।
वरिष्ठ पत्रकार श्रीनारायण साहले शहीद दुर्गानन्द झालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार गम्भीर हुनुपर्ने माग गर्दै ज्ञात तथा अज्ञात सम्पूर्ण शहीदहरूको भावना समेट्ने गरी संविधान संशोधन आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा प्रा. रमेशकुमार साह, सीमाञ्चल दैनिकका सम्पादक उपेन्द्र भगत नागबंशी, डा. शम्भु साह, सरफुद्दीन राइन, सफिकुल्ला राइन, वडा सदस्य विभा देवी ठाकुर, सकुन्ती देवी महरा, मोहिनुद्दीन राइन, पूर्व वडा सदस्य कैलास साह, देवेन्द्र महतो, सन्तोष चौधरी, गुलाब साहलगायतले पनि शहीद दुर्गानन्द झाको योगदानबारे आफ्ना विचार व्यक्त गरेका थिए ।
वक्ताहरूले शहीद दुर्गानन्द झाको बलिदानलाई राज्यस्तरबाट सम्मान गर्दै उनको नाम इतिहासमा सधैँ अमर राख्न सरकार तत्काल पहल गर्नुपर्नेमा जोड दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

