प्राविधिक कारणले प्रादेशिक ललितकला प्रदर्शनी स्थगित, माघ २५ देखि हुने

जनकपुरधाम, १५ माघ । नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोष जनकपुरधामको संयुक्त आयोजनामा हुने भनिएको ‘मधेश प्रदेश प्रादेशिक ललितकला प्रदर्शनी–२०८२’ केही प्राविधिक कारणले निर्धारित मितिमा आयोजना हुन नसक्ने भएको छ ।
यसअघि माघ १६ गतेदेखि सुरु हुने तय भएको प्रदर्शनी अब माघ २५ गतेदेखि मैथिली विकास कोषको भवनमा आयोजना गरिने आयोजक संस्थाले जनाएको छ ।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले आवश्यक तयारी, प्रविधिक व्यवस्थापन तथा प्रदर्शनीस्थलको समुचित व्यवस्थापनका कारण कार्यक्रमको मिति सार्नुपरेको बताए ।
उनले भने, ‘प्रदर्शनीलाई अझ व्यवस्थित, प्रभावकारी र दर्शकका लागि आकर्षक बनाउन केही तयारी आवश्यक देखिएकाले मिति परिवर्तन गरिएको हो । यसबाट कलाकार तथा दर्शक दुवैलाई गुणस्तरीय अनुभव प्रदान गर्ने हाम्रो लक्ष्य छ ।’
अध्यक्ष चौधरीले मधेश प्रदेशका कलाकारहरूको सिर्जनालाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको उल्लेख गर्दै सबै कलाकार, कला प्रेमी तथा सरोकारवालालाई नयाँ मितिमा सहभागिता जनाउन आग्रह गरेका छन् ।
प्रदर्शनीमा मधेश प्रदेशका विभिन्न जिल्लाका कलाकारहरूको चित्रकला, मूर्तिकला, हस्तकला तथा समसामयिक कला कृतिहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ । यस प्रदर्शनीमार्फत स्थानीय कला, संस्कृति र पहिचानको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

