धनुषाका मतदान केन्द्रको उच्चस्तरीय अनुगमन, सुरक्षा तयारीबारे समीक्षा

जनकपुरधाम, १४ माघ । प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै धनुषा जिल्लाका विभिन्न मतदान केन्द्रमा उच्चस्तरीय टोलीले स्थलगत अनुगमन गरेको छ ।
परराष्ट्र मन्त्री वालानन्द शर्मा, मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकीरा महतो, प्रमुख सचिव कमल भट्टराईसहित सुरक्षा निकायका उच्च अधिकारीहरूको टोलीले मतदान स्थलको निरीक्षण गरेको हो ।
अनुगमन टोलीमा नेपाली सेनाका पृतनापति कृष्णबहादुर जिसी, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेल, प्रदेश प्रहरी प्रमुखलगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
टोलीले मतदान केन्द्रको भौतिक संरचना, मतदाताको पहुँच, सुरक्षा व्यवस्थापन, शान्ति सुरक्षाको अवस्था तथा निर्वाचन सञ्चालनका पूर्वतयारीको अवस्थाबारे स्थलगत अवलोकन गरेको थियो । साथै, सम्भावित जोखिम न्यूनीकरण र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न आवश्यक तयारीबारे जानकारी लिइएको थियो ।
अनुगमनपछि सम्बन्धित निकायबीच निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनका विषयमा समीक्षा बैठकसमेत सम्पन्न भएको छ । बैठकमा संवेदनशील क्षेत्रको पहिचान, सुरक्षाकर्मी परिचालन, निगरानी प्रणाली तथा मतदाता सुरक्षाबारे विस्तृत छलफल गरिएको बताइएको छ ।
सरकारी अधिकारीहरूले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै निकायबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता जनाएका छन् । साथै, मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

