पार्टी निर्णय विपरीत उम्मेदवारी दिएको आरोपमा जसपाबाट ८ नेता निष्कासित

जनकपुरधाम, १४ माघ । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले आसन्न प्रतिनिधिसभा निर्वाचन–२०८२ मा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको आरोपमा आठ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीबाट जारी विज्ञप्तिमा पार्टीको नीति, निर्णय, अनुशासन र विधानविपरीत गतिविधि गरेको ठहर गर्दै ती नेताहरूलाई तत्काल लागू हुने गरी निष्कासन गरिएको जनाइएको छ ।
जसपाका अनुसार पर्सा, बारा, सर्लाही र महोत्तरी जिल्लाका विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका नेताहरूलाई कारबाही गरिएको हो ।
निष्कासित हुनेमा पर्सा क्षेत्र नम्बर १ का प्रदीप यादव, बारा क्षेत्र नम्बर २ का चन्दन कुमार सिंह र आत्माराम साह, बारा निवासी कमरुल्लाह अन्सारी, सर्लाहीका उदयकान्त मिश्र, महोत्तरी क्षेत्र नम्बर १ का हरिनारायण यादव, बारा निवासी नवल किशोर सिंह तथा महोत्तरीका डा. शिवजी यादव रहेका छन् ।
विज्ञप्तिमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु पार्टी हितविपरीत भएको उल्लेख गर्दै यस्ता गतिविधिले संगठनात्मक अनुशासन कमजोर बनाउने भन्दै कडा कदम चालिएको बताइएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादव र संरक्षक महन्थ ठाकुरको हस्ताक्षरसहित जारी विज्ञप्तिमा आगामी निर्वाचनमा पार्टीको एकता र अनुशासन कायम राख्न यस्ता निर्णय आवश्यक भएको उल्लेख गरिएको छ ।
जसपाले आगामी दिनमा पनि पार्टीको नीति र निर्णय उल्लंघन गर्ने नेताकार्यकर्तामाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

