धनुषामा निर्वाचन प्रहरी तालिम तालिका परिवर्तन, माघ १८ देखि प्रशिक्षण हुने

जनकपुरधाम, १४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटाइने निर्वाचन प्रहरीको तालिम तालिका परिवर्तन गरिएको छ ।
नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका लागि भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत कार्यविधि २०८२ अनुसार छनोट भई नियुक्तिका लागि सिफारिस भएका मुख्य उम्मेदवारहरूको प्रशिक्षण कार्यक्रम संशोधन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यसअघि माघ १५ देखि २४ गतेसम्म तालिम सञ्चालन हुने जनाइएकोमा अब संशोधित तालिकाअनुसार माघ १८ गतेदेखि २७ गतेसम्म तालिम सञ्चालन हुनेछ । सार्वजनिक बिदाका दिनसमेत समेटेर १० दिनको प्रशिक्षण अवधि तोकिएको छ ।
तालिम तथा नियुक्तिका लागि छनोट भएका उम्मेदवारहरूलाई माघ १७ गते बिहान ९ बजे अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ । नेपाल प्रहरीतर्फ सिफारिस भएका ४ हजार ९ सय ४२ जना उम्मेदवार जिल्ला प्रहरी कार्यालय धनुषामा उपस्थित हुनुपर्नेछ ।
त्यस्तै, सशस्त्र प्रहरी बल नेपालतर्फ सिफारिस भएका ३ सय ८५ जना उम्मेदवार सशस्त्र प्रहरी बल नं. ८ गण मुख्यालय धनुषामा उपस्थित हुनुपर्नेछ ।
उम्मेदवारहरूले प्रवेशपत्र र नागरिकताको सक्कल प्रति अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने तथा भद्र पोशाकमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
बैकल्पिक सूचीमा रहेका उम्मेदवारहरूलाई आवश्यकताअनुसार पछि जानकारी गराइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाअन्तर्गत निर्वाचन प्रहरी भर्ना छनोट उपसमितिले संशोधित तालिका सार्वजनिक गर्दै समयमै उपस्थित हुन उम्मेदवारहरूलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

